ad ad

सुदूरपश्चिम


बैङ्लोरमा अस्तायो बझाङका ५ जनाको परिवार, भेट्न गएका आमाबुवा विक्षिप्त

बैङ्लोरमा अस्तायो बझाङका ५ जनाको परिवार, भेट्न गएका आमाबुवा विक्षिप्त

गोकुल जोशी
जेठ २१, २०८१ सोमबार १६:५४, काठमाडौँ

बझाङको जयपृथ्वी नगरपालिका–११ सुइलका ३२ वर्षीय मदन बोहरा भारतको बैङ्लोरमा चौकीदारीको काम गर्थे। मदनसँग उनकी श्रीमती र छोराछोरी पनि बस्थे। 

गत बुधबार राति ड्युटी सकेर उनी कोठामा पुगे। राति १२ बजेतिर खाना पकाउने क्रममा एक्कासी ग्याँस विस्फोट भयो।

खाना पकाउने ग्याँस लिक भएर भएको आगलागीमा जलेर घाइते भएका मदनसहित परिवारका ५ जनाले संसार छाडे।

घटनापछि गम्भीर घाइते उनीहरूलाई उद्धार गरेर अस्पताल लगिएको थियो। उपचारको क्रममा स्थानीय भिक्टोरिया अस्पतालमा मृत्यु भएको आफन्त दामोदर धामीले नेपालखबरलाई बताए।

जलेर घाइते मदनका छोरा ५ वर्षीय प्रशान्तको घटना भएकै दिन मृत्यु भएको थियो। माइली छोरी ९ वर्षीया अनिताको शुक्रबार र श्रीमती ३० वर्षीया पे्रमजलाको शनिबार मृत्यु भएको हो। 

मदनको आइतबार राति र जेठी छोरी १२ वर्षीया मिरिताको सोमबार बिहान उपचारको क्रममा निधन भएको धामीले जानकारी दिए।

‘परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। घटनापछि चन्दा उठाएर उपचार गरिरहेका थियौँ,’ मृतकका आफन्त धामी भन्छन्, ‘तर परिवारको एक जनालाई पनि जोगाउन सकेनौँ।’

घाइते भएका बोहरा परिवारका ५ जनाको उपचारका लागि नेपाल र भारतमा आर्थिक सहयोग संकलन गरिएको थियो। उनीहरूको शरीर पूरै जलेको थियो। मृतक तीन जनाको बैङ्लोरमै अन्त्यष्टि गरिएको छ।

मदन र जेठी छोरी मिरिताको पनि सोमबार त्यहीँ अन्त्यष्टि गरिँदैछ।

मृतक मदनका बुवा ६० वर्षीय विष्णु र ५५ वर्षीया आमा जुनकला दुई महिना पहिले छोराबुहारी र नातिनातिनासँग भेटघाटका लागि बैङ्लोर गएका थिए।

लामो समयदेखि बैङ्लोरमा बस्ने छोरा, बुहारी र नातिनातिनासँग भेटघाट भएको थिएन। 

बुवा विष्णु यसअघि पनि भारत गइरहन्थे। उनी श्रीमती जुनकलालाई लिएर बैङ्लोरमै चौकीदारीको काम गरिरहेका थिए। 

वृद्धअवस्थामा छोराको परिवार ढलेको शोकमा पीडाले उनीहरू विक्षिप्त छन्। घटनापछि उनीहरू सम्हालिन सकेका छैनन्। 

मृतक मदन आर्थिक अवस्था कमजोर भएर गाउँमा जीविकोपार्जन गर्न नसकेपछि बैङ्लोर पुगेका थिए। उनी परिवारसहित ६ वर्षदेखि बैङ्लोरमै बस्दै आएका थिए।

श्रीमती प्रेमजला स्थानीयको घरमा सरसफाइको काम गर्थिन्। श्रीमान् मदन चौकीदारी। उनीहरूले तीन छोराछोरीलाई त्यहीँको स्थानीय विद्यालयमा अध्ययन गराइरहेका थिए।

‘एक/दुई वर्ष थप बसेर पैसा कमाउने र पछि छोराछोरीलाई पढाउनका लागि घर आउने भन्नुहुन्थ्यो,’ धामी भन्छन्, ‘आज यस्तो दुःखद खबर सुन्नुपरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .