ad ad

सुदूरपश्चिम


रुसी सेनामा नेपाली : दाइ विराजन बिते, भाइ निराजन सम्पर्कविहीन

अझै श्रीमान् फर्किने आशमा सीता, लोकेन्द्रकी वृद्ध आमा चिन्तामा
रुसी सेनामा नेपाली : दाइ विराजन बिते, भाइ निराजन सम्पर्कविहीन

श्रीमान् विराजन विष्ट (दायाँ) को किरियामा चाँदनी


गोकुल जोशी
बैशाख २९, २०८१ शनिबार १०:३४, कञ्चनपुर

घरको बरन्डामा टेबुलमाथि एउटा तस्बिर छ। त्यसमा फूलमाला पहिर्‍याइएको छ। नजिकै दियोमा बत्ती बलिरहेको छ। फ्रेममा रसियन आर्मीको पोसाकमा एक व्यक्ति छन्। उनले बन्दुक पनि भिरेका छन्। 

त्यही तस्बिरको माथिल्लो भागमा लेखिएको छ- हार्दिक श्रद्धाञ्जली! अनि मुनितिर स्व.विराजन विष्ट।

रुसी सेनामा रहेका विष्ट रुस–युक्रेन युद्धमा सात समुद्रपारि ढलेको खबर पाएपछि उनको परिवारमा अहिले सन्नाटा छ।

कञ्चनपुरको वेदकोट नगरपालिका-९ सुन्दरपुरस्थित घरमा छोरा विश्वासजंग किरिया बसेका छन्। सँगै जोडिएको अर्को कोठामा विराजनकी श्रीमती चाँदनी।

छरछिमेक घरमा भेला भएका छन्। उनीहरूलाई सान्त्वना दिइरहेका छन्।

कञ्चनपुरको वेदकोट नगरपालिका-९, सुन्दरपुरस्थित विराजनको घर।

कुशको शव बनाएर बिहीबार हिन्दु परम्पराअनुसार विराजनको अन्तिम संस्कार गरिएको छ।

विराजन गत मंसिर २१ गते रुसी सेनामा भर्ना भएका थिए। उनीसँगै उनका सहोदर भाइ ४१ वर्षीय निराजन र नाति ३० वर्षीय लोकेन्द्रबहादुर विष्ट पनि त्यतै हानिए। उनीहरूसहित १२ जना नेपाली भैरहवा हुँदै दिल्लीबाट रुस पुगेका थिए।

रुसी सेनामा भर्ना भएपछि पनि परिवारसँग सधैँ सम्पर्क भइरहन्थ्यो- विराजनको। उनले त्यहाँबाट खर्च पनि पठाइरहन्थे। चैतसम्म उनीहरू तालिममै थिए। त्यसको अन्तिमतिरबाट युद्धमा पठाएपछि घरपरिवारसँग उनको सम्पर्क कम हुन थाल्यो।

‘तालिममा हुँदा सधैँ साँझ फोनमा कुरा हुन्थ्यो। चैत अन्तिमतिर युद्धमा पठाएको १४ दिनपछि फिर्ता भएपछि कुरा भयो। २ दिनपछि फेरि युद्धमा पठायो। त्यसबेला सम्पर्क भएन। त्यसको ८ दिनपछि सम्पर्कमा आउनुभयो। एक दिनपछि फेरि युद्धमा जानुभयो,’ भाइबुहारी सीता विष्ट भन्छिन्, ‘त्यसको केही दिनपछि सम्पर्कमा आउनुभएन।’

केही दिनपछि साथीको मोबाइलबाट सम्पर्क गरेर विराजनले आफू युद्धमा रहेको जानकारी दिए। त्यसपछि भने परिवारसँग उनको सम्पर्क टुट्यो।

यहीबीच गत आइतबार सँगैका साथी परशुराम चौधरीसँग सम्पर्क भयो। र, उनले विराजन बितेको खबर सुनाए।

परिवारजनलाई विश्वासै लागेन। अर्को दिन सँगै रुस गएका महेश चन्दले पनि विराजनको दु:खान्त सुनाए।

‘यहाँको कमान्डरले पनि विराजन दाइ रहेनन् भनेर भनिरहेको छ। आफ्नै आँखाले शव देखेको छैन,’ महेशले भनेको सन्देश सुनाउँदै सीता भन्छिन्, ‘त्यतिबेला पनि हामीलाई विश्वास लागेको थिएन। सम्पर्क हुने आशामै थियौँ।’

सीताका श्रीमान् निराजन पनि विराजनसँगै रुस युद्धमा थिए। निधनको आधिकारिक पुष्टि गर्न श्रीमान् निराजन र नाति नाता पर्ने लोकेन्द्रसँग सीताको पनि सम्पर्क हुन सकेको थिएन। 

सम्पर्क गर्ने प्रयासमा रहेको विराजनको परिवार भारतीय नागरिक अंकितले ह्वाट्सएप कलमा दिएको सन्देशपछि दाहसंस्कार गर्ने निधोमा पुगेको हो।

‘सँगैका २/३ साथीले उहाँ (विराजन) को बारेमा भन्नुभयो। सुरुमा विश्वास नलागेर हामीले कसैलाई भन्न सकेनौँ,’ सीता भन्छिन्, ‘भारतीय मान्छेले आँखाले नै शवसँग विराजनले लगाउने घडी र लकेट देखेको भने।’

भाइ निराजनले दाइ विराजनको मृत्युको खबर आफैँले भन्न नसकेर साथीहरूलाई भन्न लगाएको उनी बताउँछिन्। निराजनले साथीहरूलाई भनेअनुसार युद्धमा क्रममा बंकरको सर्च गर्न विराजन साथीहरूसँगै त्यहाँ पसे। विराजन भाइ निराजनलाई बाहिर बस्न भनेर बंकरभित्र गएका थिए।

‘करिब डेढ घण्टासम्म कुर्दा पनि दाइ फर्किएनन्’, निराजनले साथीहरूलाई भनेको कुरा सुनाउँछिन् सीता। तर सीता अझै श्रीमान् सम्पर्कमा आउने आशामा छिन्।

विराजनसँगै गएका लोकेन्द्र विष्टकी वृद्ध आमा कमलादेवी पनि छोरो सम्पर्कमा नभएपछि चिन्तामा छिन्। उनी किरियामा बसेका विराजनको घरमै हुन्छिन्। लोकेन्द्र घरका जेठा छोरा हुन। 

आन्दोलनमा थिइन्, रुसमा पति ढलेको सुनिन्
विराजनका दुई छोराछोरी छन्। छोरा विश्वासजंग काठमाडौँमा इन्जिनियरिङ अध्ययन गर्छन्। छोरी सुरक्षाले कक्षा १२ को परीक्षा दिइन्। 

आमा चाँदनीसँगै उनीहरू काठमाडौँमा बस्छन्। कञ्चनपुरको सुन्दरपुरमा पनि उनीहरूको घर छ। रुसमा रहेका नेपालीको सकुशल उद्धारको माग गर्दै राजधानीमा आन्दोलन (अनशन) चलिरहेको थियो। त्यसमा चाँदनी पनि सहभागी भइन्। 

श्रीमान् विराजन रुसबाट उनलाई भन्ने गर्थे, ‘नेपाल सरकारले फर्काए, सबै फर्किन्छौँ।’ 

काम विशेषले उनी साताअघि काठमाडौँबाट सुन्दरपुर घरमा आएकी थिइन्। काठमाडौँ फर्किने क्रममा धनगढी एयरपोर्टमै थिइन्। 

त्यति नै बेला श्रीमान् विराजनबारे अपुष्ट खबर आइसकेको थियो। त्यो खबर सुनेपनि छोराछोरी काठमाडौँमा एक्लै हुनाले उनी त्यतै जानुपर्ने थियो। 

सँगैका साथीहरूले विराजन बितिसकेको बताएपछि गत मंगलबार चाँदनी सुन्दरपुर फर्किएर किरियामा बसेकी छन्।

‘रुसका नेपालीलाई स्वदेश फर्काइदेऊ भनेर अनशन बस्यौँ। मन्त्रालय धायौँ,’ चाँदनी भन्छिन्, ‘तर कसैले सुनेन। समयमै हाम्रो कुरा सुनेको भए आज यस्तो किन भोग्नुपर्थ्यो र!’

नेपाली सेनामा प्रशिक्षक थिए विराजन 
विराजन कुनै बेला नेपाली सेनामा काम गर्थे। ०५८ सालमा नेपाली सेनामा भर्ना भएका उनी प्रशिक्षक थिए। तेक्वान्दो खेलाडी थिए। उनले १८ महिना कमान्डो तालिम पनि गरे। ठाउँठाउँमा सैनिकलाई प्रशिक्षण दिए।

०६८ मा उनले नेपाली सेनाको जागिर छाडे। त्यसपछि उनी सिपगार्डको काम गर्न सिंगापुर हानिए। सिंगापुर ८ वर्ष बसे। त्यसपछि दुबईमा पनि ४ वर्ष बिताए। विराजनका भाइ निराजन भने सुन्दरपुरमै व्यवसाय गर्थे।

‘उनीहरूको रुस जाने कुनै योजना थिएन। दलालको प्रलोभनमा परेर एक्कासि गए,’ विराजनकी ६५ वर्षीया आमा जानकी भन्छिन्, ‘एक जनाको ९ लाखभन्दा बढी खर्च भयो।’

विराजनसँग रुस जाने प्रत्येक नेपालीले ७ लाख रुपैयाँ दिए। उनीहरू काठमाडौँको दामोदर पाण्डेय दलालमार्फत दिल्ली हुँदै रुस पुगेका थिए। दलाललाई नगद ७ लाख बुझाए। र, रुसी सेनामा भर्ना हुन त्यहाँ पनि २ लाख बुझाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .