नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सांसद टीका थापा सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी छन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन्।
नवनियुक्त मन्त्री थापालाई मंगलबार नै प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनियताको शपथ समेत खुवाएका छन्। थापाले मन्त्रालयको कार्यभार सम्हालेकी छन्।
यसअघि मंगलबार बिहानै सत्तारुढ गठबन्धनमा नाउपाकी थापालाई मन्त्रालय दिएर सरकारमा सामेल गराउने सहमित गरेका थिए। थापा नाउपाभित्र रञ्जिता निकट सांसद हुन्। मुख्यमन्त्री सोडारीलाई नाउपाको रञ्जिता पक्षीय २ सांसदको समर्थन छ।
कैलाश चौधरीलाई ६ वैशाखमै सोडारीले भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए। त्यसो त त्यस दिन उनले नाउपाकै टीका थापालाई पनि बिनाविभागीय मन्त्री बनाउन खोजेका थिए। तर बिना मन्त्रालयको मन्त्री बन्न थापाले अस्वीकार गरिन्।
त्यति मात्रै होइन, उनले सरकारलाई समर्थन नरहेको घोषणा नै गर्न भ्याएकी थिइन्। र, मुख्यमन्त्री सोडारीले मन्त्रालय फुटाएर पछि विभाग तोक्ने भनेपछि सरकारमा सामेल नहुने अडानमा थिइन्, थापा। उनको अडान दुई साता पनि टिकेन।
गत २१ फागुनममा कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन टुटेपछि कांग्रेसले नेतृत्व गरिरहेको सुदूरपश्चिम सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बाहिरिए।
त्यसपछि अल्पमतमा रहेका तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाह नाउपालाई साथमा लिएर सरकार जोगाउने कसरतमा थिए। यद्यपी नाउपाभित्रै संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच गठबन्धनको विषयमा तीव्र मतभेद थियो।
रञ्जिता एमाले नेतृत्वको गठबन्धनलाई सघाउने पक्षमा उभिँदा रेशम कांग्रेससँग सहकार्य गर्ने पक्षमा थिए। तत्कालीन मुख्यमन्त्री कांग्रेसका शाहले विश्वासको मत लिने तयारी गरिरहेका थिए।
तर विश्वासको मत लिने दिन नाउपाको रञ्जिता पक्षीय सांसद्वय कैलाश चौधरी र टीका थापा काठमाडौँ बसिदिए। त्यति मात्रै होइन्, कांग्रेसले विश्वासको मतका लागि आश गरेका स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी पनि काठमाडौँमा उनीहरुसँगै झुल्किएका थिए।
उनीहरु धनगढी फर्किएनन्। अन्तिमसम्म चौधरी र थापा धनगढी नआएपछि विश्वासको मत नलिएरै कांग्रेसका शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
कांग्रेस नेतृत्वको सरकार ढाल्न भूमिका खेल्ने उनै नाउपाका २ सांसद अहिले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री बनेका छन्।
Shares
प्रतिक्रिया