पहिरोले अवरुद्ध सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै खुलेको छैन। नेपाली सेना, प्रहरी लगायत सुरक्षाकर्मीले राजमार्गको पहिरो पन्छ्याउने क्रम जारी नै राखेका छन्।
सोमबार रातिको अविरल वर्षापछि आएको पहिरो भीमदत्त राजमार्गले ठाउँ ठाउँमा परेको छ। खानीडाँडादेखि बुढीतोलासम्म ठाउँ ठाउँमा सडक भासिएको पनि छ।
भीमदत्त राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन केही दिन लाग्ने देखिन्छ। राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको यातायात पनि ठप्प छ ।
पहाडबाट तराई झर्ने र तराईबाट पहाड जाने सबै सवारी साधन बाटोमा रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
विभिन्न कामले पहाडबाट तराई झर्ने यात्रुहरू कैलालीको बुढितोलासम्म यातायातका साधनमा आएपनि त्यहाँबाट गोदावरीसम्म आउन सकिरहेका छैनन्।
कतिपय यात्रु घन्टौं पहिरोमै हिँड्दै जोखिमपूर्ण यात्रा गरेर पहिरो छिचोल्दैछन्। कतिपय अशक्त, बिरामी यात्रु भने अलपत्र परेका छन्। नेपाली सेनाले अलपत्र परेका यात्रुको उद्धार गरिरहेको छ।
पहिरोले अवरुद्ध सडक वारिपारी गाडीहरू भरिएका छन्। हिँडेरै पहिरो छिचोलेर आउनेहरू पहिरो नभएको ठाउँबाट गाडी चढिरहेका छन्। विपत्तिको समयमा गाडी सञ्चालकहरूले चर्को भाडा लिइरहेको उनीहरूको गुनासो छ।
अवरुद्ध रहेको बाटो डोजर र स्काइभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए।
‘सुदूर पहाडको मुख्य सडक हुनाले जतिसक्दो चाँडो पहिरो पन्छाउन निर्देशन गरेको छुँ, राति पनि पहिरो पन्छाउने काम जारी रहन्छ,’ उनले भने।
संघीय सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख हरिप्रसाद सुवेदीले अत्तरिया–डडेल्धुरा सडक खण्डको विभिन्न क्षेत्रमा गएको पहिरोले बाटो अवरुद्ध भएको बताए।
कैलालीको बुढितोलामा करिव ४ सय मिटर बाटो नै भाँसिएको र चाँडो सडक सञ्चालनका लागि आफूहरूले सक्दो प्रयास गरिरहेको उनले बताए। अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालनमा आउन केही दिन लाग्ने उनले बताए।
भीमदत्त राजमार्ग सुदूर पहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा आवतजावत गर्ने एक मात्रै सडक हो।
थप तस्बिरहरू: पत्रकार पुष्कर भट्ट
Shares
प्रतिक्रिया