दार्चुलामा बाँकेका एक जनाको कुटपिटबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ का ३० वर्षीय देव परियारको मृत्यु भएको हो।
उनी सदरमुकाम खलंगास्थित बसपार्क नजिक निर्घात कुटपिट भएर अचेत अवस्थामा शनिबार राती भेटिएका थिए।
उनको टाउको तथा शरीरभरी घाउ थिए। प्रहरीले उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल पुर्याएको थियो।
उपचारको क्रममा उनको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ। परियारमाथी कुटपिट गर्नेको पहिचान खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जगत गाहामगरले बताए।
‘घटनामा संलग्न र कारण खुल्न सकेको छै, हामीले अनुसन्धान सुरु गरेका छौं,’ उनले भने।
प्रहरीका अनुसार घटनाको सोधपुछका लागि चार जना समातिएका छन्। मृतक परियार मजदुरी काम गर्न केही दिन अघि खलंगा आएका थिए।
खलंगाको एक होटेलमा नेपालगन्जबाटै आएका अन्य चार जनासँग उनी बस्दै आएका थिए। मृतकसँग बस्ने उनीहरूलाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक गाहामगरले बताए।
होटलमा खाना खाएर सँगै सुत्न गएको खुलेको छ। घटनाको सुक्ष्म रुपले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। होटलको सीसीटीभी फुटेजको पनि प्रहरीले विश्लेषण गरिरहेको छ।
Shares
प्रतिक्रिया