कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्लाका रंगे बुढा उमेरले ७२ वर्ष पूरा भए। डेढ दशकअघि डडेल्धुराबाट बसाइँसरी खल्ला झरेका थिए, उनी। खल्लामा बसोबास गर्न थालेदेखिनै उनले महाकाली करिडोरको कुरा सुने।
गाउँसम्म जाने बाटो नहुँदा सास्ती भोग्ने गरेका त्यहाँका स्थानीय महाकाली करिडोर बनेपछि यो क्षेत्रको कायाकल्प हुने आशामा थिए। जीवनको उत्तरार्धमा पुग्दा पनि करिडोर निर्माण नभएपछि रंगेले करिडोरमा गाडी चढ्ने सपना मारिसके।
अचेल उनी छिटो काम सकेर छोरा, नातीनतिनाले आफ्नो जस्तो दुख नव्यहोर्नु परोस् भन्ने सोच्छन्। ‘हामी त जसो तसो दुखकष्ट काट्यौँ, छोरा नातिनतिनाले हाम्रो जस्तो दुख व्यहोर्नु नपरोस्,’ उनी भन्छन्, ‘नेताहरुले बारम्बार आश्वासन दिए तर दशक बितिसक्दा पनि सडक निर्माण हुन सकेको छैन।’
कञ्चनपुर खण्डमा वर्षौंपछि केही साता अघिदेखि महाकाली करिडोर अन्तर्गत ट्रयाक खोल्ने काम धमाधम भइरहेको छ। सो क्षेत्रमा पर्ने रूख कटानको आदेश आएपछि कटानसँगै ट्रयाक खोल्ने काम धमाधम भइरहेको हो।
‘हामीलाई पहाडतिर जान र तराइ झर्न सहज हुन्थ्यो, केही वर्ष अघि खल्ला, मसेट्टी र टुँडिखेलमा ग्राभेल सडक पुगेको छ,’ रंगे भन्छन्, ‘यसले केही हदसम्म सहज भएको छ, महाकाली करिडोर हाम्रो लागि लाइफ लाइन हो।’
महाकाली करिडोर अन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म कतै ट्रयाक खोल्ने काम सकिएको छ। केही स्थानमा ट्रयाक खोल्ने काम चलिरहेको छ। केही ठाउँमा वन क्षेत्र पर्ने भएकाले रुख कटानको आदेश नआउँदा ट्रयाक खोल्न पनि सकिएको छैन।
सब–डिभिजन वन कार्यालय ब्रम्हदेवले कञ्चनपुर खण्डमा पर्ने रुखमा टाँचा लगाउने काम गरिरहेको छ।
‘कञ्चनपुर खण्डमा वनले रुखमा टाँचा लगाउँदैछ, सँगै हामी ट्रयाक खोल्दैछौँ,’ निर्माण कम्पनी दिवा सनीदेव जेभीका सञ्चालक देवीदत्त भट्टले भने, ‘रुख काटेर घाट गद्दीमा राख्दैछौँ।’
दुई वर्षअघि दिवा सनीदेव जेभीले ब्रह्मदेवदेखि कञ्चनपुर खण्डमा पर्ने ११ किलोमिटर र डडेल्धुरा खण्डको चार किलोमिटर गरेर १५ किलोमिटरको ठेक्का पाएको थियो।
कञ्चनपुर खण्डमा ठेक्का सम्झौता भएको दुई वर्षपछि ट्रयाक खोल्न थालिएको हो। डडेल्धुरा खण्डको चार किलोमिटर सडकको ट्रयाक खोलिएको भट्टले बताए।
करिडोरको जिरो प्वाइन्ट ब्रम्हदेव बजारदेखि कञ्चनपुर सीमासम्मको ११ किलोमिटर क्षेत्रमा पर्ने रुख कटान हुन नसक्दा काम अघि बढ्न सकेको थिएन।
केही महिनाअघि मन्त्रिपरिषद्ले रूख र पोल साइजका रूख कटान गर्न दिने निर्णय गरेको थियो। तर, वन विकास कोषमा रकम जम्मा गर्न ढिलाई गरिदा अन्यौल सृजना भएको थियो।
भीमदत्त नगरपालिका–९ ब्रम्हदेवदेखि डडेल्धुराको सीमासम्म ११ किलोमिटरमा १५ सय ३२ रूख र चार सय १९ पोल साइजका साना रूख पर्छन्।
मन्त्रिपरिषद्ले गत फागुन १५ मा रूख र पोल साइजका गरी एक हजार ९ सय ५१ रूख कटानका लागि निर्णय गरेको थिया । कञ्चनपुर खण्डको ११ किलोमिटर ट्रयाक खुलेमा छिट्टै डडेल्धुराको जोगबुढासम्म सवारीसाधन गुडाउन मिल्ने भन्दै यस क्षेत्रका स्थानीय खुसी छन्।
महाकाली किनारका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जोड्ने ४ सय २५ किलोमिटर लामो सडक खण्डमध्ये दुई सय १५ किलोमिटरमा ट्रयाक खोलिएको छ। करिडोर अन्तर्गत महाकाली तीरै तीर कञ्चनपुरको ब्रम्हदेवदेखि दार्चुलाको छाङरु–तिंकरसम्म सडक बन्नेछ।
ब्रम्हदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटर सडक निर्माणको काम महाकाली करिडोर सडक आयोजनाले गरिरहेको छ। तुसारपानीदेखि तिंकरसम्म ९१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ।
करिडोर अन्तर्गत डडेल्धुरा खण्डमा पर्ने २७ किलोमिटर सडकको ट्रयाक खोलिएको आयोजना प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए। उनका अनुसार डडेल्धुरा खण्डको बाँकी ३१ किलोमिटर खण्डको रुख कटान आदेश नआएकाले ट्रयाक खोल्ने काम अघि बढेको छैन।
करिडोरको डडेल्धुरा खण्ड ११ किलोमिटरदेखि ६९ किलोमिटर पर्छ । बैतडी खण्ड अन्तर्गत पर्ने रुख कटानको म्याद नाघेकोले रुख कटान हुन नसकेको प्रमुख जोशीले बताए।
‘रुख कटानको म्याद थपको प्रक्रियामा गएको छ, म्याद थप भएपछि ट्रयाक खोल्ने काम सुरु हुन्छ,’ उनले भने, ‘रुख नपर्ने क्षेत्रमा अहिले ट्रयाक खोल्ने काम भइरहेको छ।’
बैतडीमा ४ हजार पाँच सय ९६ र दार्चुलामा २ हजार ४३ रूख कटान गर्नु पर्ने छ। कञ्चनपुरदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम्म महाकाली तीरका बस्तीलाई सडक सञ्जालसँग जोड्न झण्डै डेढ दशकअघि महाकाली करिडोर आयोजना सुरु भएको थियो।
आयोजनाले ट्रयाक दार्चुला र डडेल्धुराको केही भूभागमा कालोपत्रका लागि पनि ठेक्का पनि लगाइसकेको छ। डडेल्धुरामा ५.५ किलोमिटर र दार्चुलामा ३२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भएको प्रमुख जोशीले बताए।
Shares
प्रतिक्रिया