दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता ५ जना यार्सागुम्बा संकलकको पहिचान खुलेको छ।
बेपत्तामध्ये ३ जना डोटी बुडरका छन् भने २ जना व्यासको छिमेकी दुँहु गाउँपालिकाका बासिन्दा भएको प्रहरीले जनाएको छ।
हिमपहिरोले मंगलबार दिउँसो यार्सा संकलक बसिरहेको टेन्ट पुरेको थियो। पुरिएकामध्ये ७ जनालाई सुरक्षाकर्मीले हिजै उद्धार गरी छाङरु ल्याएका छन्।
जिल्ला प्रहरी कार्यालय (दार्चुला) का प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा छन्।
यस्तै उक्त हिमपहिरोमा परी दुँहु गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर पनि बेपत्ता भएका छन्।
उक्त क्षेत्रमा लगातार हिमपात भइरहेको छ। बाक्लो हिउँ र अध्याँरो भएकाले छाङरुबाट गएको सशस्त्र र नेपाल प्रहरीको टोली हिजो साँझ ७ जनाको उद्धार गरी फर्किएको थियो।
उक्त टोली आज पुनः घटनास्थलतर्फ जाने प्रहरी निरीक्षक सिंहले जानकारी दिए।
हिमपहिरोमा बेपत्ताको खोजीका थप तस्बिर-
Shares
प्रतिक्रिया