दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित छाङरु र तिंकरका स्थानीय सदरमुकाम खलंगाबाट थातथलो फर्किन थालेका छन्। चिसो छल्न सदरमुकाम झरेका उनीहरु फेरि छाङरु–तिंकरकै बस्ती फर्किन थालेका हुन्।
भारतीय अतिक्रमणमा परेको लिपुलेक क्षेत्रसँग जोडिएको छाङरु र तिंकरमा चिसो अत्याधिक बढेपछि त्यहाँका बासिन्दा सदरमुकाम झर्ने गर्दछन्।
तिंकर र छाङरुका सौका समुदायका बासिन्दा हिँउदका छ महिना खलंगा बसाइँ सर्छन्। स्थानीय भाषामा उनीहरु यसलाई ‘कुञ्चा’ सर्नु भन्छन्।
छाङरु र तिंकरबासीलाई आफ्नै भूमि जान भारतको अनुमति लिनुपर्ने पर्ने बाध्यता छ। नेपालतर्फबाट छाङरु र तिंकर जान बाटो नहुँदा स्थानीय भारतीय बाटोको प्रयोग गर्ने गर्छन्।
तिंकर र छाङरुमा एक सय १३ परिवारको बसोबास छ। तिंकर र छाङरुमा जाडो छल्न खलंगा झर्ने र गर्मी छल्न थातथलो चढ्ने पुरानै चलन हो। तिंकर र छाङरुबासी सदमुकाम खलंगा पुग्न निकै कष्टपूर्ण यात्रा गर्न बाध्य छन्।
नेपाली भूमिमा बाटो नहुँदा भारतीय पक्षको अनुमति माग गरेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता रहेका स्थानीय अशोक बुढाथोकीले बताए।
‘कहिले काहीँ भारतीय पक्षले आवतजावतका लागि अनुमति पनि दिँदैन, एसएसबीले विभिन्न बहानामा ढिलाई गर्ने तथा अनावश्यक चेकजाँच गर्ने गर्छन्,’ उनले भने, ‘नेपालतिर बाटो बनेको भए अर्काको भर पर्नु पर्ने बाध्यता पर्ने थिएन।’
छाङरु र तिंकरबासीलाई सदरमुकाम आवातजावत गर्न नेपाली बाटो प्रयोग गरेर तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्नु पर्ने हुन्छ।
सदरमुकाम खलंगाबाट व्याँस गाउँपालिकाको केन्द्र सुनसेरासम्म हालै सडकको ट्रयाक खुलेकोले त्यहाँसम्म गाडीमा चल्ने गरेको छ।
सुनसेरा भन्दा माथि हिँडडुल गर्न अफ्ठ्यारो बाटो रहेको छ।
‘छाङरु र तिंकर पुग्न नेपालतर्फबाट बाटो छैन, वस्तुभाउ सहित सदरमुकाम झर्ने त्यहाँका स्थानीय भारतीय बाटोकै प्रयोग गर्छन,’ व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी भन्छन्, ‘हिँडेर जोखिमपूर्ण तीन दिनको यात्रा गर्नुपर्छ, वस्तुभाउ नेपालतर्फबाट लैजान गाह्रो छ।’
भारतले गाडी गुड्ने बाटो निर्माण गरेकोले सो बाटोबाट छाङरु र तिंकरबासी एक दिनमै सदरमुकाम ओहोरदोहोर गर्ने गरेका छन्। भारतसँग बाटो प्रयोगका लागि अनुमति माग्नुपर्छ।
पशुचौपायासहित छाङरु तिंकर फर्किरहेका स्थानीय भारतीय बाटोकै प्रयोग गर्ने गर्छन्। छाङरु र तिंकरका स्थानीय सदरमुकामबाट थातथलो फर्किन थालेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपसिंह धामीले बताए।
‘प्रशासनबाट अनुमतिका लागि सिफारिस गरेर भारतीय प्रशासनलाई पठाएका थियौँ,’ उनले भने, ‘अनुमति पाएर स्थानीय छाङरु र तिंकरका लागि पशुचौपाया लिएर हिँडिसकेका छन्।’
उनका अनुसार भारतले बाटो प्रयोगका लागि २ सय भन्दा बढी पास दिएको छ। धार्चुला हुँदै भारतीय बाटोको प्रयोग गरेर जाने उनीहरु सीतापुलबाट नेपालतर्फ आउँछन्।
Shares
प्रतिक्रिया