दार्चुलामा मृत भेटिएका युवायुवतीको घटनामा प्रहरी अनुसन्धान जारी राखेको छ। घटना भएको साता बितिसक्दा पनि अझै त्यसको गुत्थी भने खुलेको छैन।
गत चैत ३० गते नौगाड गाउँपालिका–४ घोपरीका १८ वर्षीय दीपेन्द्र ठगुन्ना र डाडाकी १७ वर्षीया सञ्जिला धामी मृत अवस्थामा फेला परेका थिए। पीडित परिवारले घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरीमा जाहेरी दिएका छन्।
नौगाड गाउँपालिका–४ बौला सल्याण नजिक मृत भेटिएका ती युवा युवती प्रेम सम्बन्धमा रहेका थिए। सञ्जिलाको शव चोटपटक लागेको अवस्थामा भेटिएको थियो। त्यसकै केही तल भिरमा दीपेन्द्रको शव भेटिएको थियो।
‘घटना अनुसन्धान भइरहेको छ, अझै मृत्युको कारण खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भने, ‘मृतकका साथी र नजिक आफन्तहरुसँग सोधपुछ भइरहेको छ।’
घटनास्थलमा दुई मोबाइल पनि फेला परेका थिए। प्रहरीका अनुसार युवकको मोबाइल फुटेको अवस्था थियो। युवतीले प्रयोग गर्ने मोबाइलबाट उनीहरु प्रेम सम्बन्धमा रहेको खुलेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनास्थलमा फेला परेको मोबाइल दीपेन्द्रले साथीसँग मागेर लगेको थिए।
‘आफ्नो मोबाइलको चार्ज सकिएकोले मोबाइल मागेको मृतकका साथीले भनेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘अहिलेसम्म घटनामा अन्यको संलग्नता देखिएको छैन, हामी सोधपुछमै छौँ।’
घटनास्थलमा भेटिएको मोबाइल मृतक युवक दीपेन्द्रको गाउँकै साथीको रहेको प्रहरीले जनाएको छ। मृतक सञ्जिला दिदीको घर बझाङमा बसेर कक्षा ९ मा पढ्थिन्। कक्षा ९ को परीक्षा सकेर उनी चैत १६ मा घर फर्किएकी थिइन्।
मृतक दीपेन्द्र दार्चुलामा कक्षा १० मा पढ्थे। एसइई दिएर उनी चैत २६ गते घर फर्किएका थिए। प्रेम सम्बन्धमा रहेका उनीहरु बुधबार २९ चैतको राति सिफ्टीको हुली दागडामा लाग्ने गञ्जामा सँगै थिए। नयाँ वर्ष (बिसु) पूर्वसन्ध्यामा १५ चैतदेखि नाचगान गर्ने प्रचलन छ। जसलाई स्थानीय भाषामा गञ्जा भन्छन्।
मोबाइलसँग सम्बन्धित र घटनाको अघिल्लो राति साथमा रहेका दीपेन्द्रका साथीमाथि प्रहरीले सोधपुछ गरिरहेको छ। घटनाअघि बिहीबार उनीहरुबीच विवाद भएको स्थानीयले देखेका थिए।
‘घटनाअघि उनीहरुबीच विवाद भइरहेको थियो, मान्छे नजिक जाँदा उनीहरु केही नभएजस्तो गरेर चुपचाप बसिरहेको देख्ने स्थानीयले भनेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।’
Shares
प्रतिक्रिया