बैतडीको दोगडाकेदार गाउँपालिका–८ का ३८ वर्षीय वाशुदेव जोशीको हत्यामा संलग्न भएको आरोपमा एक जना पुरुष र अर्की महिला समातिएका छन्।
प्रहरीले वाशुदेवको हत्या आरोपमा दोगडाकेदार–८ तोलीका २४ वर्षीय महेन्द्र विष्ट र कट्टेधारकी २८ वर्षीया धनमती भण्डारीलाई पक्राउ गरेको हो।
शनिबार राति धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा जोशीको शव भेटिएको थियो। मृतक जोशीका दाइ पुष्पराज जोशीले ज्यान सम्बन्धी कसुरमा विष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएका थिए।
आरोपित विष्टलाई घरमा ताला लगाएर भित्र लुकिरहेका अवस्थामा प्रहरीले समातेको थियो।
बाटो ढुकेर शनिबार राति करिब ८ बजेतिर धारिलो हतियारले घाँटी रेटेर जोशीको हत्या गरेको प्रहरीले जनाएको छ।
हत्या घटनामा अन्य केही जना समेत संलग्न रहेको हुनसक्ने अनुमान प्रहरीको छ।
जोशीलाई गत चैत २९ गते एक महिलालाई कुटपिट गरेको आरोप लागेको थियो।
जिल्ला प्रहरी कार्यालय पुगेर दुवै पक्षकाबीच मिलापत्र भएको थियो।
प्रहरीका अनुसार गत फागुनतिर भएको घटनामा दुवै पक्षबीच पुनः विवाद भएपछि जिल्ला प्रहरी कार्यालय पुगेर सहमति गरी घर फर्केका थिए।
घटना योजनाबद्ध र नियोजित रुपमा भएकाले दोषीमाथि कडा सजायको माग आफन्तले गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया