बझाङको दुर्गाथली गाउँपालिका–३ का धर्मराज मुर भारतको हरियाणामा ढावा चलाउँथे। सधैँजसो भिडभाड र व्यस्त रहने त्यो सहरमा उनको ढावा राम्रै चलेको थियो। घर, व्यवहारले अचेटेपछि उनले ढावा बिक्री गर्नुपर्यो।
उनले २ लाख १३ हजार ५ सय रुपैयाँ भारु बोकेर शुक्रबार पश्चिमी सीमा नाका बनबासा भएर घर फर्किरहेका थिए। त्यही बेला उनी भारतीय सीमा सुरक्षा बल (एसएसबी) को चेकिङमा परे। एसएसबीले स्रोत नखुलेको भन्दै उक्त रकम नियन्त्रणमा लिएको छ।
वर्षौंदेखिको कमाई एसएसबीको हातमा पुगेपछि मुर निरास हुँदै इलाका प्रहरी कार्यालय गड्डाचौकीमा पुगेका छन्।
‘उहाँ हाम्रो सम्पर्कमा आउनु भएको छ,’ गड्डाचौकीका सई देवसिंह बुडालले भने, ‘पर्याप्त प्रमाण र आधार जुटाउनसक्नु भयो भने एसएसबीले पैसा फिर्ता गर्छु भनेको छ।’
हिजो पनि यस्तै घटना भएको थियो। मजदुरी गरेर घर फर्किरहेका तीन जना नेपालीहरुबाट एसएसबीले करिब ११ लाख भारु बरामद गरेको थियो। नयाँ वर्ष (बिशु) मनाउन घर फर्किरहेका सुर्खेत र कालिकोटका तीन जना मजदुरको साथबाट ‘स्रोत नखुलेको’ उक्त रकम बरामद भएको एसएसबीले जनाएको छ। उक्त रकम भारतीय भन्सार कार्यालयमा जम्मा गरिएको छ।
उत्तराखण्डको देहरादुनमा मजदुरी गर्ने सुर्खेतका लोक बहादुर चन्द, कालिकोटका पदम कामी र टेक बहादुर कामीबाट उक्त रकम बरामद गरिएको थियो।
उनीहरु घर आउँदा अन्य कामदारको ज्याला समेत बोकेर फर्किरहेका थिए। भारतले २५ हजार रुपैयाँ भारु भन्दा बढी रकम नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ।
५ सय र दुई हजारको नोटमा पनि प्रतिबन्ध छ। प्रतिबन्धित नोट र सीमा भन्दा अधिक रकम बोकेर नेपाल फर्किंदा एसएसबीले जफत गर्ने गरेको छ।
यही आधारमा एसएसबीले घर फर्किने नेपालीहरुको ज्याला मजदुरी गरेर कमाएको रकम बरामद गरी सरकारीकरण गरेको हो।
भारतका विभिन्न ठाउँमा रोजगारी गर्नेहरुले अहिले पनि घर फर्किने छिमेकीसँग एकमुष्ठ रुपमा रकम पठाउने गरेका छन्। जसका कारण एकै व्यक्तिसँग ठूलो रकम देखिने गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले सुर्खेतका चन्दको रकम एसएसबीले बरामद गरेको जानकारी प्राप्त भएपनि उनी प्रहरीको सम्पर्कमा नआएको बताए।
उनका अनुसार पदम र टेक बहादुरले आफ्नो पैसाको स्रोत जुटाउने काम गरिरहेका छन्। उनीहरुले उक्त रकमको स्रोत पेश गरेपछि फिर्ता पाउने सम्भावना छ।
बैंक स्टेटमेन्ट, तलब बुझेको प्रमाण वा फोन पे आदिको प्रमाणका आधारमा उक्त रकम फिर्ता हुन सक्छ। भारतबाट घर फर्किंदा ल्याउन पाउने रकमको सीमाबारे बेखबर हुँदा नेपाली कामदारले अनावश्यक दुःख पाउने घटना बढेका छन्।
पसिना बगाएर दुःख गरेको रकम त गुमाउन पुगिरहेका छन् भने अर्कोतर्फ ‘बदमास’ को दाग पनि लाग्न थालेको छ।
Shares
प्रतिक्रिया