भारतले दार्चुला सदरमुकाम खलंगा पारि महाकाली किनारमा फेरि तटबन्ध निर्माणको काम थालेको छ। भारतीय पक्षले पुरानै ठेक्कालाई निरन्तरता दिदै तटबन्ध निर्माणको काम अगाडी बढाएको हो।
यस पटक भारतीय पक्षले तटबन्ध निर्माणबारे जिल्ला प्रशासन कार्यालय दार्चुलालाई समेत जानकारी दिएको छ। तटबन्ध निर्माण बारे भारतीय पक्षले यसपटक जानकारी दिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताइन्।
भारतीय पक्षको जानकारी पश्चात् दार्चुलास्थित नेपाली प्रशासनकातर्फबाट साउदले तटबन्धको स्थलगत अनुगमन समेत गरेकी छिन्। महाकाली नदीको धार परिवर्तन नहुने गरी तटबन्ध निर्माण गर्न आग्रह गरिएको उनले बताइन्।
‘भारतीय पक्षले पुरानै ठेक्काको कामलाई अगाडी बढाएको हो, नदीको धार परिवर्तन हुने खालका कुनै गतिविधि गरेको छैन्,’ उनले भनिन्, ‘नदीको धार परिवर्तन नहुने गरी तटबन्ध निर्माण गर्नुहोस् भनेका छौं, यस विषयमा जिल्ला प्रशासन कार्यालयमा दुवै देशका अधिकारीबीच भोली थप छलफल हुन्छ।’
विगतमा भारतीय पक्षले नेपाली प्रशासनसँग कुनै समन्वय नगरी तटबन्ध निर्माण गर्ने गरेको थियो।
Shares
प्रतिक्रिया