कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट डा. आरजु राणा देउवा उम्मेदवार बन्ने भएकी छन्।
कांग्रेसको प्रदेश सभा क्षेत्रीय समितिले राणालाई प्रतिनिधि सभाको सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेर उनको एकल नाम सिफारिस गरेको छ।
क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (१) र (२) क्षेत्रीय कार्यसमितिहरूले आरजुलाई सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउनुपर्ने भन्दै एकल नाम सिफारिस गरेर पठाएको कैलाली–५ का सभापति भीम पडालले बताए।
उनका अनुसार यसबारे थप निर्णय गर्न बिहीबारका लागि क्षेत्रीय कार्यसमितिको बैठक आह्वान गरिएको छ।
‘प्रदेश कार्यसमितिले उहाँको नाम एकल सिफारिस गर्ने निर्णय गरिसकेका छन्, आज दिउँसो २ बजे क्षेत्रीय कार्यसमिमितको बैठक बस्दै छ’, उनले भने, ‘यसबारे थप निर्णय गरेर माथि पठाउँछौँ।’
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणा ०७४ को निर्वाचनमा पनि यहीँबाट उम्मेदवार बनेकी थिइन्। त्यसबेला उनी वाम गठबन्धनबाट उम्मेदवार एमालेका नारदमुनि रानासँग ४ हजार ८८० मतान्तरले हारिन्। रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन्।
Shares
प्रतिक्रिया