ad ad

सुदूरपश्चिम


निर्मला हत्याकाण्डको ४ वर्ष, अनुसन्धान जहाँको त्यहीँ

आमा दुर्गादेवी भन्छिन् : न्याय पाउने आशा मरिसक्यो
निर्मला हत्याकाण्डको ४ वर्ष, अनुसन्धान जहाँको त्यहीँ

गोकुल जोशी
साउन १०, २०७९ मंगलबार १८:१९, कञ्चनपुर

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पूरा भएको छ।

१० साउन २०७५ मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन्।

यस्तो जघन्य अपराध भएको ४ वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन।  निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस तथ्य पत्ता लगाउन सकेको छैन।

अनुसन्धानमा संलग्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचना पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरेका छन्।

यसबीच प्रहरीले डीएनए परीक्षण, शंकास्पद व्यक्तिसँग बयान लगायत सूक्ष्म अनुसन्धान गरिसकेको छ। तर पनि अपराधीको छेउछाउ पनि अनुसन्धान पुग्न सकेको देखिँदैन।

सुरुमै प्रहरीले गल्ती गरेका कारण अनुसन्धान झन्झटिलो बनेको र रहस्यमयी बन्न पुगेको अनुसन्धान टोलीको दाबी छ। चार वर्षसम्म पनि अपराधी पहिचान हुन नसक्दा निर्मलाको परिवारले न्याय पाउने आशा मारेको छ। 

‘दोषीलाई कारबाही गर्ने सबैले आश्वासन दिए, प्रहरीका प्रमुखहरु र सरकार नै फेरिए, तर यत्तिका समय भइसक्दा पनि छोरीले न्याय पाउन सकिनन्,’ आमा दुर्गादेवीले पन्तले नेपालखबरसँग भनिन्, ‘अब त न्याय पाउने आशा नै मरिसक्यो।’

निर्मला बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान प्रगति ‘शून्य’जस्तै छ। घटना भएको ४ वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन। 

नेपाल प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’जस्तै भएको छ। अनुसन्धानमा प्रहरीले दरिलो प्रमाण प्राप्त गर्न नसक्दा यो प्रकरण नेपाल प्रहरीकै लागि चुनौती बनेको छ।

१०७ जनाको डीएनए परीक्षण
निर्मला प्रकरणको अनुसन्धानका क्रममा चार वर्षको अवधिमा प्रहरीले शंकास्पद १०७ जनाको डीएनए परीक्षण गरेको छ भने शंकास्पद सयौँसँग सोधपुछ गरेको छ। 

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट, स्थानीय आयुश विष्ट, दिलीपसिंह विष्ट, प्रदीप रावल र विशाल चौधरी लगायत झण्डै १०७ जनाको डीएनए परीक्षण गरियो। तर रिपोर्ट निर्मलाको भेजाइनल स्वाबसँग मिलेन।

यस्तै, पछिल्लो ६ महिनाको अवधिमा अनुसन्धानका क्रममा शंकास्पद देखिएका थप ३ जनाको डीएनए परीक्षणका नमूना संकलन गरेर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ती तीन जनाको डीएनए रिपोर्ट आउन बाँकी छ।

घटनालाई पहिलो प्राथमिकता दिएर गहन रूपमा निरन्तर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर शाहले बताए।

‘यो घटनाको अनुसन्धानलाई हामीले प्रमुख प्राथमिकतामा राखेका छौं, त्यसका लागि छुट्टै टिम सक्रिय छ,’ उनले नेपालखबरसँग भने, ‘तर निष्कर्षमा पुग्ने ठोस प्रमाण भेटाउन सकिएको छैन, दोषी पुष्टि गर्ने प्रमाण खोजीमा छौं।’

यो प्रकरण अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसँगै सीआईबी लगायत अनुसन्धान टोली सक्रिय छन्। प्रहरीले निर्मलाको शव फेला परेको स्थानमा देखिने लागुपदार्थ सेवनकर्ता तथा कामदारहरुमाथि निगरानी राखेको छ।

‘शव भेटिएको स्थानमा बस्ने लागुपदार्थ सेवनकर्ता र कामदारहरुलाई निगरानीमा राखेर सूचना संकलन गर्ने काम गरिरहेका छौँ,’

डीएसपी शाहले भने, ‘शंकास्पदमाथि सोधपुछ र डीएनए परीक्षण गरिरहेका छौँ, तर निष्कर्षमा पुग्ने गरी अनुसन्धानमा प्रगति हुन सकेको छैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .