सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटबारे छलफल गर्न मंगलबार बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक पनि प्रतिपक्षी दल र सत्तारुढ दलकै प्रदेशसभा सदस्यले बहिष्कार गरेका छन्।
हिजाे स्थगित बैठक आज बिहान ११ बजेका लागि सारिएको थियो। तर प्रतिपक्ष नेकपा एमाले, लोसपा र जसपा सांसद प्रदेश सभा बैठकमा उपस्थित नभएपछि प्रदेशसभा बैठक फेरि स्थगन भएकाे हाे।
बैठकमा सत्ता पक्षमा सांसदकै उपस्थिति पनि न्यून देखिएको छ।
संसद् चलाउन गणपूरक संख्या नपुगेपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगन गरेका हुन्।
५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा संसद् चलाउन एकचौथाइ अर्थात् १४ सांसद सहभागी हुन अनिवार्य हुन्छ।
अर्को बैठक आजै मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।
सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सांसद बजेटका पक्ष र विपक्षमा उभिएका छन्।
बजेटमा विधि र प्रक्रियाविपरीत मनपरी ढंगले योजना समावेश गरिएको भन्दै सत्तारुढ दलका केही सांसददेखि मन्त्रीसम्मले बजेट संशोधनको अडान राखेका छन्।
सत्तापक्षको एक कित्ता भने यथास्थितिमै बजेट पास गर्ने रणनीतिमा छ। यही विषयमा सहमति नजुट्दा बजेट संसदमा प्रस्तुत भएको एक महिना बित्नै लाग्दा पनि यसबारे छलफल अगाडि बढ्न सकेको छैन।
Shares
प्रतिक्रिया