निर्माणाधीन महाकाली सिंचाइ आयोजना तेस्रो चरण अन्तर्गतको मूल नहरमा निर्माण सुरु भएको डेढ दशक पछि पानी सञ्चालनको तयारी थालिएको छ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने महाकाली सिंचाइ आयोजना तेस्रो चरणको मूल नहरमा परीक्षणसँगै पानी सञ्चालन हुने भएको हो।
भारततर्फको टनकपुर ब्यारेजदेखि नेपालतर्फ २५ किलोमिटर मूल नहरमा पानी सञ्चालन हुने आयोजना कार्यालयले जनाएको छ।
निर्माण सम्पन्न भएको मूल नहरमा परीक्षण गरेर पानी सञ्चालनको तयारी भइरहेको आयोजनाका सूचना अधिकारी उमेश गुप्ताले बताए।
उनका अनुसार १८.५ किलोमिटर ब्रह्मदेवदेखि बगुन खोलासम्म मूल नहरको निर्माणको सम्पूर्ण काम सम्पन्न भएको छ।
‘२५ किलोमिटर मूल नहरसम्म पानी परीक्षण गरेर सञ्चालन गर्न सकिन्छ, त्यसका लागि परीक्षण गर्छौं,’ सूचना अधिकारी गुप्ताले भने, ‘असार १५ गते धान दिवसको दिन परीक्षण गर्ने तयारी छ।’
नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजदेखि नेपाली भूमिसम्म भारतले निर्माण गर्नु पर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भएको छ।
‘केही दिनमा भारतले आफूले बनाएको नहरमा पानी परीक्षण गर्छन्, त्यसपछि हामीले गर्छौं’ सूचना अधिकारी गुप्ताले भने।
महाकाली सन्धि भएको २७ वर्ष बितिसक्दा पनि नेपालले महाकालीको पानी उपभोग गर्न पाएको छैन। नहर निर्माणमा ढिलाइ हुँदा टनकपुर बाँधबाट नेपालले पाउनुपर्ने पानी २७ वर्ष बितिसक्दा पनि पाउन नसकेको हो।
२९ माघ २०५२ मा नेपाल र भारतबीच महाकाली सन्धि भएको थियो। सन्धि अनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रति सेकेन्ड तथा सुख्खा याममा ८.५० घनमिटर प्रति सेकेन्ड पानी पाउनुपर्छ।
यो पानी उपयोग गर्नका लागि नेपालले १५२ किलोमिटर लामो मूल नहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नु पर्छ। तर नहर निर्माण कार्य सुस्त गतिमा हुँदा सन्धि अनुसार पाउनु पर्ने पानी नेपालले पाउन सकेको छैन।
दुई वर्षअघि राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएपछि भने महाकाली सिंचाइ तेस्रो चरणको कामले गति लिएको छ।
सन्धि भएको १० वर्षपछि आर्थिक वर्ष २०६३÷०६४ देखि निर्माण थालिएको नहरमा पानी सञ्चालनको तयारीमा भइरहेको महाकाली सिंचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले बताए। ‘सुरुमा परीक्षण गरिनेछ, त्यसपछि ५/७ क्युमेक्स पानी नियमित नहरमा बग्नेछ’ उनले भने।
आगामी आर्थिक वर्षमा मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको प्रक्रिया अघि बढ्ने उनले बताए। २२ वटा शाखा नहर निर्माणका लागि अहिले जमिन अधिग्रहणको प्रक्रिया सुरु भइसकेको आयोजना कार्यालयले जनाएको छ।
‘दुई वर्षभित्र शाखा नहर निर्माण गरेर किसानको खेतमा पानी पुर्याउने लक्ष्य छ,’ आयोजना निर्देशक बमले भने, ‘कतिपय स्थानमा पुराना सिंचाइ प्रणालीलाई पनि प्रयोग गर्न सकिन्छ।’
२२ वटा शाखा नहरहरू निर्माण भए ५३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने छ। यस्तै, शाखा नहर निर्माणका लागि झन्डै ८ हेक्टर जमिन अधिग्रहण हुनेछ।
महाकाली सिंचाइ आयोजना तेस्रो चरण कार्यालयका अनुसार पहिलो भागमा कञ्चनपुरको ब्रह्मदेव क्षेत्र (दुई हजार ९०० हेक्टर) र चाँदनी–दोधारा क्षेत्र (तीन हजार पाँच सय १० हेक्टर) गरी कुल छ हजार चार सय १० हेक्टरमा पानी पुर्याउने योजना छ।
दोस्रो भागमा त्रिभुवनवस्ती क्षेत्रमा १९ हजार छ सय २० हेक्टरमा र तेस्रो भागमा कैलालीको मालाखेती क्षेत्रको सात हजार चार सय ९० हेक्टरमा सिंचाइ पुर्याइने योजना छ।
यो आयोजनाबाट कञ्चनपुर र कैलालीका गरी ३३ हजार ५२० हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ।
प्रतिक्रिया