ad ad

खेल


राखेप सदस्य सचिवमा रमेश सिलवालको आवेदन

राखेप सदस्य सचिवमा रमेश सिलवालको आवेदन

नेपालखबर
असार ३१, २०७७ बुधबार १५:५४,

निवर्तमान सदस्य सचिव रमेश कुमार सिलवालले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि बुधबार आवेदन दिएका छन्। सिलवालले आवेदन दिएसँगै सदस्य सचिवमा पुनः उनी नै आउने सम्भावना बलियो बनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली निकटका उनले आवेदन दिए उनी नै फर्कने पक्का रहेको भन्दै धेरै पर्ख र हेरको अवस्थामा थिए। मंगलबारसम्म सिलवाल आफैँले पनि आवेदन दिने की के गर्ने भन्ने विषयमा छलफल कै क्रममा रहेको बताउँदै आएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले असार १० गते खेलकुद विकास ऐन २०७७ प्रमाणीकरण गरेपछि सिलवाल पदमुक्त भएका थिए। अब नयाँ प्रक्रियाबाट सदस्यसचिव नियुक्त हुने भएपनि सिलवाल नै फर्कने सम्भावना छ।

यसअघि पनि प्रधानमन्त्री केपी ओलीकै चाहनामा सिलवाल राखेप सदस्यसचिवमा नियुक्त भएका थिए। चार वर्षका लागि नियुक्त भए पनि नयाँ ऐनका कारण पदमुक्त भएका उनी प्रधानमन्त्रीसँगको निकटताका कारण फेरि नियुक्त हुन सक्ने सम्भावना बलियो छ। त्यसबाहेक सदस्यसचिवका लागि तोकिएको मापदण्डका लागि पनि सिलवाल योग्य देखिएका छन्।

प्रधानमन्त्रीसँगको निकटताकै कारण सिलवालले गतवर्षको असार २३ गते थुप्रै आकांक्षीलाई पछि पार्दै राखेपको बागडोर सम्हाल्न आइपुगेका थिए। छोटो समयमा नै १३ औं दक्षिण एशियाली खेलकुद (साग) आयोजना गरेर सिलवालले खेल क्षेत्रमा चर्चा कमाएका थिए।

यस्तै, सदस्यसचिवमा अहिलेसम्म ३ जना महिलाको आवेदन परेको छ। पूर्व राष्ट्रिय भलिबल खेलाडीद्वय अन्जु श्रेष्ठ र निलम बज्राचार्यसहित मिना श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका छन्। पूर्व भलिवल खेलाडीद्धय श्रेष्ठ र महर्जनले महिलाको सहभागिताका लागि सदस्य सचिवका लागि आवेदन दिएको बताएका छन्।

आठौं र दशौं सागमा पदक जितेकी विजेता श्रेष्ठ दशौं सागमा नेपालले पदक जित्दा टोलीको कप्तान समेत थिइन्। श्रेष्ठले २०५३ सालमा धनगढीमा भएको राष्ट्रिय भलिबल प्रतियोगिता खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। बज्राचार्य भने नेपालले २०४४ सालमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा टोलीको सदस्य थिइन्।

सदस्यसचिवका लागि अहिलेसम्म ११ जनाले उम्मेदवारी दर्ता गराएको मन्त्रालय श्रोतले जनाएको छ। पहिलो नम्बरमा राजेश महर्जनले उम्मेदवारी दर्ता गराएका हुन्। सदस्य सचिवका लागि (भोलि) बिहीबार दिउँसो ३ बजेसम्म आवेदन दिन सकिनेछ।

नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ। जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ।

खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियाको संयोजकत्वमा राखेपका रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको तीन सदस्यीय सिफारिस समितीले आवेदक मध्येबाट एक महिलासहित मापदण्ड पूरा गरेका ३ जनाको नाम छनोट गरी मन्त्रालयलाई सिफारिस गर्नेछ। सिफारिस भएकामध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले राखेप सदस्यसचिव नियुक्त गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .