ad ad

खेल


एन्फा महिला लिगः सरुको उत्कृष्ट प्रदर्शनमा एपीएफ अपराजित

एन्फा महिला लिगः सरुको उत्कृष्ट प्रदर्शनमा एपीएफ अपराजित

नेपालखबर
असोज १, २०८१ मंगलबार १८:५८, काठमाडौँ

एपीएफ क्लबले छैटौँ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राख्दै एन्फा महिला लिगमा शीर्ष स्थान सुरक्षित राखेको छ। साथै, दोस्रो चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफले मंगलबार संकटा क्लबमाथि ३–० को जित निकाल्दै जारी लिगमा आफ्नो लय जारी राख्यो। र, साविक विजेतासमेत रहेको एपीएफले लिगको शीर्ष स्थानमा रहेर दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको हो।

लिगको शीर्ष पाँच टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन्। शीर्ष स्थानको एपीएफले पाँचौँ जितसँगै ६ खेलबाट १६ अंक जोडेको छ। जुन दोस्रो स्थानको पुलिसको भन्दा पाँच अंकले बढी हो। यद्यपि, पुलिसले एक खेल कम खेलेको छ। 

पहिलोपल्ट लिग खेलेको संकटाले भने विदेशी खेलाडी भित्र्याए पनि सुखद् नतिजा प्राप्त गर्न सकेको छैन। समान खेलबाट संकटाको यो तेस्रो हार हो। संकटा पाँच अंकससहित सातौँ स्थानमा छ। जुन नतिजाले संकटाको दोस्रो चरणमा पुग्ने सम्भावना कठिन छ।

संकटाविरुद्ध एपीएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे। खेलको १३ औं मिनेटमा सरुको गोलबाट एपीएफले अग्रता लिएको हो। रश्मिकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिइन्।

एक मिनेट नबित्दै संकटाले खेलमा फर्कन अवसर गुमायो। ममता पुनले काउन्टर अट्याकबाट दिएको उत्कृष्ट क्रसमा सावित्री किसिनले डाइभ गरे पनि फुत्किएको बल टासी ल्हामु शेर्पाले भेटाउन सकिनन्। लगत्तै निशा थोकर उक्त बल क्लियर गर्दै एपीएफको संकट टारिन्।

२१औँ मिनेटमा अनिता बस्नेतको करिब १० यार्डबाट गरेको सशक्त प्रहार संकटाकी गोलकिपर तेनिङ सेनेले उत्कृष्ट बचाउ गरिन्। त्यसपछि केही प्रयास भए पनि थप गोल निस्किन सकेन र पहिलो हाफमा एपीएफले १–० ले अगाडि रह्यो।

अनिता केसीले ५१ औं मिनेटमा एपीएफको अग्रता दोब्बर बनाइन्। सरुले उपलब्ध गराएको बललाई अनिताले बक्सभित्र टर्न गर्दै उत्कृष्ट गोल गरेकी हुन्।

एपीएफले ६४ औं मिनेटमा तेस्रो गोल गर्दै संकटामाथि दबाब बनायो। पेनाल्टी बक्स लाइनबाट सबिताले गरेको उत्कृष्ट गोलमार्फत एपीएफले ३–० को सहज अग्रता बनाएको हो। सरुले दिएको थ्रु पास नियन्त्रणमा लिँदै उनले गोल गरेकी हुन्।

यस क्रममा सविताले संकटाका दुई रक्षकलाई बिट गर्दै बललाई पोस्टको दिशा दिइन्। यसपछिको समयमा थप गोल हुन सकेन र एपीएफको अपराजित यात्रा कायमै रह्यो। एपीएफकी सरु लिम्बू प्लेयर अफ दि म्याच भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .