ad ad

खेल


साफ यु–१७ र एसियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ

साफ यु–१७ र एसियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ

नेपालखबर
असोज १, २०८१ मंगलबार १६:२८, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१७ फुटबल च्याम्पियनसिपका र एसियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ गरेको छ।

आगामी सेप्टेम्बर २० देखि ३० सम्म भुटानको राजधानी थिम्पुमा सात राष्ट्र सम्मिलित साफ यु–१७ फुटबल च्याम्पिपयनसिप हुँदैछ। चाङ्लिमिथाङमा हुने च्याम्पियनसिपमा नेपालको समूह ‘बी’ मा आयोजक भुटानसहित पाकिस्तान र श्रीलंका छन्।

नेपालको अर्को युवा टोलीले चाइनिज ताइपेइमा एएफसी यु–२० एशियन कपको छनोट पनि खेल्नेछ। एन्फाले मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रम आयोजना गर्दै दुवै युवा टोलीको बिदाइ गरेको हो। 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा र सिइओ इन्द्रमान तुलाधारलगायतले नेपाली टोलीको बिदाइ गरे।

सो अवसरमा मन्त्री चौधरीले सगरमाथाजस्तो उच्च मनोबलका साथ खेल्न शुभकामना दिँदै साफ यु–१७ मा नेपालको इतिहास राम्रै रहेकाले यो नतिजालाई कायम राख्न अनुरोध गरे। मन्त्री चौधरीले आफ्नो व्यक्तिगत प्रतिनिधित्व गर्न नभई नेपालको प्रतिनिधि भएर जाँदैछु भन्ने महसुस गर्न खेलाडीलाई आग्रहसमेत गरे।

एन्फका अध्यक्ष नेम्वाङले नयाँ फुटबल रंगशाला निर्माणका लागि जग्गा खोज्ने काम भइरहेको बताए। साथै उनले दुवै नेपाली टोलीलाई राष्ट्र सम्झेर खेल्दै जितेर आउन शुभकामना दिए।

नेपालको यु–२० युवा टोलीले एशियन कप छनोट चरणमा समूह ‘बी’ मा रहेर प्रतिस्पर्धा गर्दैछ। उक्त समूहमा आयोजक चाइनिज ताइपेइ, बहराइन, उब्जेकिस्तान र कम्बोडिया छन्।

नेपालले आफ्नो पहिलो खेल कम्बोडियासँग आगामी सेप्टेम्बर २१ मा खेल्नेछ। नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईसँग सेप्टेम्बर २३ मा र उब्जेकिस्तानसँग आगामी २५ तारिखमा खेल्ने तय छ। दिनपछि ताइपेइ सिटीमा नेपालले बहराइनविरुद्ध चुनौती प्रस्तुत गर्नेछ । समूहमा पहिलो हुने टोलीले आगामी सन् २०२५ मा चीनमा आयोजना हुने यु–२० एसियन कपमा सिधै स्थान बनाउनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .