ad ad

खेल


एन्फा महिला लिगमा कोसीको तेस्रो जित, पूर्णिमाले गरिन् २ गोल

एन्फा महिला लिगमा कोसीको तेस्रो जित, पूर्णिमाले गरिन् २ गोल

नेपालखबर
भदौ २३, २०८१ आइतबार २०:०, काठमाडौँ

एन्फा महिला लिगमा कोसी प्रदेशले जारी आइतबार पनि आफ्नो विजययात्रालाई कायम राख्दै तेस्रो खेलसम्म पुर्‍याएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा जारी लिगमा कोसीले कर्णालीमाथि ४–० को नतिजा निकाल्दै तेस्रो जित प्राप्त गरेको हो।

कोसीको जितमा पूर्णिमा राईले दुई तथा समीक्षा मगर र प्रतीक्षा राईले एक-एक गोल गरे। यसअघि कोसीले पहिलो खेलमा वालिङ नगरपालिकामाथि ४–० को नतिजा निकाल्दा बागमती युवा क्लबलाई २–१ ले पराजित गरेको थियो।

आइतबारको पहिलो खेलमा पनि कोसीले विजयी यात्रा जारी राख्यो। कोसीले पहिलो हाफमा एक गोल गरेको थियो। तर, दोस्रो हाफमा थप आक्रामक बन्दै कोसीले तीन गोल थप्यो। 

कोसीले प्रादेशिक प्रतिद्वन्द्वीमाथि लगातार दबाब कायम राखे पनि पहिलो गोल गर्न भने ३४औँ मिनेटसम्म प्रतीक्षा गर्नुपर्‍यो। पूर्णिमाले उक्त गोल ममता राउतले राइट साइडबाट दिएको कट्ब्याक पासमा गरेकी थिइन्। त्यो गोलसँगै पहिलो हाफमा कोसी १–० ले अगाडि रह्यो।

दोस्रो हाफमा थप आक्रामक बनेको कोसीले तीन गोल थप्यो। ६७ औँ मिनेटमा कोसीले अग्रता दोब्बर बनायो। समीक्षाको गोलबाट कोसीले अग्रता दोब्बर बनाएको हो। पूर्णिमाको थ्रु पास नियन्त्रणमा लिएकी समीक्षाले वान भर्सेस वानमा कर्णालीकी कप्तान तथा गोलकिपर लीला जोशीलाई बिट गरिन्।

७३औं मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरिन्। समीक्षाको थ्रु पासमा पूर्णिमाले कर्णालीकी गोलकिपर लीलासँग वान भर्सेस वानमा गोल गरेकी हुन्।

दुई मिनेटपछि नै कोसीले अग्रता ४–० ले अगाडि बढायो। ७४औं मिनेटमा प्रतीक्षाको गोलबाट कोसीले सहज अग्रता बनायो। ममता राउतको पासमा प्रतीक्षाले कर्णालीकी गोलकिपर लीलालाई बिट गर्दै गोल गरेकी हुन्।

यसपछि थप गोल हुन सकेन र कोसीले तेस्रो सफलता पायो। जितसँगै कोसीले तीन खेलबाट ९ अंक बटुल्यो। लगातार दोस्रो हारसँगै तीन खेलबाट कर्णालीको १ अंक छ। 

यसअघि चन्द्रपुरसँग १–१ को बराबरी खेलेको कर्णालीले वालिङ नगरपालिकासँग ४–० को हार व्यहोरेको थियो।

यता, आइतबार नै विभागीय टोली नेपाल पुलिस क्लबले बागमती युथ क्लबमाथि १–० को साँघुरो जित निकाल्यो। यो जितसँगै नेपाल पुलिसको तीन खेलबाट सात अंक पुगेको छ।

निर्मला उपाध्यायको गोल नै निर्णायक बनेपछि पुलिसले साँघुरो जित हात पारेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। ६५ औँ मिनेटमा निर्मलाले गोल गर्दै अग्रता दिलाइन्। 

दीपा न्यौपानले गरेको क्रस बल बागमतीका डिफेन्डरले क्लियर गर्न नसक्दा सो बल नियन्त्रणमा लिँदै निर्मलाले गोल गरेकी हुन्। त्यसपछि दुवै तर्फबाट गोल भएन र पुलिसले दोस्रो जित दर्ता गर्न सक्यो।

पहिलो खेलमा एपीएफसँग गोलरहित बराबरीको नतिजा सामना गरेको पुलिसले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशमाथि ९–० को गोलवर्षा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .