ad ad

खेल


काभा महिला नेसन्स लिग भोलिदेखि, फाइनल पुग्ने नेपालको विश्वास

काभा महिला नेसन्स लिग भोलिदेखि, फाइनल पुग्ने नेपालको विश्वास

नेपाली टोलीकी कप्तान अरूणा शाही। तस्बिरः सरोज नेपाल


नेपालखबर
साउन १६, २०८१ बुधबार २१:११, काठमाडौँ

नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले तयारी राम्रो भएकाले बिहीबार (भोलि) सुरु हुने काभा महिला नेसन्स लिगको फाइनलमा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

प्रतियोगिताअगाडि बुधबार भएको पत्रकार सम्मेलनमा अरुणाले सहभागी तीन टोली बलियो रहे पनि यसपटक तयारी राम्रो भएकाले फाइनल खेल्ने दाबी गरेकी हुन्।

नेपालले बिहीबार श्रीलंकासँग खेल्दै पाँच टोली सहभागी प्रतियोगिताको यात्रा सुरु गर्दै छ। आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन दिएमा नतिजा राम्रो आउने कप्तान शाहीको विश्वास छ।

उनले सहभागीमध्ये तीन टोली राम्रा रहेका टिप्पणी पनि गरिन्। रसियासँगको खेलपछि रिसिभ र डिफेन्समा सुधार भएको पनि उनको भनाइ थियो।

काभा महिला नेसन्स लिगमा सहभागी पाँच टोलीका कप्तान

पाहुना टोली श्रीलंकाले पहिलो खेल नेपालसँग खेल्दै छ।

श्रीलंकाकी कप्तान श्रीनिवासनाले नेपालसँग घरेलु समर्थकको राम्रो साथ हुने उल्लेख गर्दै राम्रो खेल्दै जित निकाल्ने दाबी गरिन्। यसपटक श्रीलंका राम्रो टोली रहेको र नतिजा पनि राम्रो हुने उनको भनाइ थियो। 

प्रतियोगितामा सबैभन्दा बलियो टोली भारत हो। भारतले गत महिना मात्र एभीसी भलिबल च्यालेन्ज कपमा राम्रो प्रदर्शन गरेको थियो। यसै प्रतियोगितामा सहभागीमध्ये एक इरानलाई हराउँदै भारत पाँचौँ भएको थियो।

भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी केएस पछिल्लो संस्करणमा पनि आफ्नो टोली च्याम्पियन रहेको र यसपटक पनि सोहीअनुरूप राम्रो तयारी गरिएको बताइन्। यद्यपि, उनले नेपाल र इरान पनि बलियो टोली रहेको उल्लेख गरिन्।

नेपालसँग पछिल्लो भेट पनि प्रतिस्पर्धात्मक भएकाले यसपटक पनि सोहीअनुरूप प्रतिस्पर्धा हुने उनको अनुमान थियो।

माल्दिभ्सकी कप्तान जुजान जारिरले आफ्ना सिनियर खेलाडीहरू बीच भलिबल खेल्ने भएकाले त्यसको अभाव हुने बताइन्। यद्यपि, आफ्नो टोलीले राम्रो प्रतिस्पर्धा दिने उनको विश्वास छ।

यस प्रतियोगितामा इरान सबैभन्दा माथिल्लो वरीयताको टोली हो। इरानलाई भारतजस्तै बलियो टोलीका रूपमा हेरिएको छ। यसपटक इरानको टोलीमा औसत २१ वर्ष उमेरका खेलाडी छन्। इरानकी कप्तान साघाएघ हासन खानीले तयारी राम्रो रहेको र यो युवा टोलीले नेपालमा राम्रो नतिजा ल्याउने आशा व्यक्त गरिन्। 

यस प्रतियोगिताका लागि नेपालले झन्डै दुई महिनादेखि तयारी गरेको छ। प्रशिक्षणसँगै नेपालले विश्व भलिबलमा नै बलियो टोली रसियासँग दुई मैत्रीपूर्ण खेल खेलेको छ। यद्यपि ती मैत्रीपूर्ण खेलमा नेपालले एउटा सेट पनि आफ्नो पक्षमा पार्न सकेन। तर नेपाली टोलीले शारीरिक र प्राविधिक रूपमा बलियो रसियाविरुद्ध राम्रो चुनौती दिँदै सकरात्मक सन्देश दिएको छ।

यो हो नेपाली टोली 
नेपालका तर्फबाट काभा महिला नेसन्स लिगको तयारीका लागि १४ सदस्यीय टोली घोषणा गरिएको छ। अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो। 

टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी छिन्।

लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ पनि टोलीमा छिन्। मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलोपटक नेपाली टोलीमा स्थान बनाएकी हुन्। यी दुईले रसियासँग राम्रो प्रभाव छाडेका थिए।

महत्त्वपूर्ण स्पाइकर प्रतिभा माली भने चोटका कारण टोलीमा छैनन्।

नेपाली टोलीको मुख्य प्रशिक्षणमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा भरत यादव छन्। नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ।

नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .