अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी-२० आई वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ उल्लेख्य सुधार गरेका छन्।
टी-२० आई वरीयताको ब्याटिङतर्फ रोहित पौडेल ३६ स्थान माथि उक्लेर ५४ औं स्थानमा पुगेका छन् ।
उनले भारतका ईशान किशनलाई पनि पछि पारेका छन्। किशन ५५ औं स्थानमा छन् ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औं हासिल गरेका छन्। बंगलादेशका अफिफ हुसेन र नामिबियाका जेजे स्मिथ पनि ४४५ अंकका साथ यसै स्थानमा छन्।
अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरीले ४८ स्थान सुधार गरेका छन्। उनी २७ औं स्थानमा रहेका छन्।
कुशल मल्ल ३५ औं स्थानमा छन्, जसले २७ स्थान सुधार गरेका छन्। उनीसँगै ३५ औं स्थानमा श्रीलंकाका धनन्जय डी सिल्भा पनि छन्, जसको ९४ अंक छ।
अलराउन्डरतर्फ गुलसन झा २२ स्थान सुधार गर्दै ७२ औं स्थानमा पुगेका छन्। यही स्थानमा पपुवा न्युगिनीका सेसे बाउ, आयरल्यान्डका ब्यारी म्याकार्थी र वेस्टइन्डिजका कायल मेयर्स पनि छन्। यी सबैको अंक ४९ छ।
अलराउन्डरतर्फ करण केसी ८१ औं स्थानमा पुगेका छन्, जसले २४ स्थान सुधार गरेका छन्।
अलराउन्डरतर्फ रोहित पौडेलले ८८ स्थान सुधार गर्दै ९२ औं स्थानमा पुगेका छन्।
नेपालको स्थान यथावत
नेपालको वरीयता भने टी-२० आई र ओडीआईमा यथावत् रहेको छ।
टी-२० आई वरीयतामा नेपाल स्थान भने १६ औंमै यथावत देखिएको छ। नेपालले रेटिङमा १७५ अंक पाएको छ। नेपालभन्दा माथि नेदरल्यान्ड्स १८४ औं अंकका साथ १५ औं स्थानमा छ।
युएई १७४ अंकका साथ १७ औं स्थानमा छ।
ओडीआईतर्फ नेपाल १५ औं स्थानमा छ।
ओडीआईको ब्याटिङ वरीयतामा कुशल भुर्तेलले एक स्थान सुधारेर ७७ औं स्थानमा उक्लिएका छन्। आसिफ शेख ७३ औं र रोहित पौडेल ९५ औं स्थानमा यथावत् छन्।
दीपेन्द्र ओडीआईको बलिङ वरीयतामा एक स्थान सुधार गर्दै ६३ औंमा उक्लिएका छन्।
सोमपाल कामी ८० औं र ललित राजवंशी ५४ औं स्थानमा यथावत रहेका छन् ।
ओडीआई अलराउन्डरतर्फ दीपेन्द्रले एक स्थान सुधार गरेका छन्। उनी ४६ औं स्थानमा छन्। यस्तै सोमपाल कामी ५५ औं र कुशल मल्ल ५१ औं स्थानमै यथावत रहेका छन् ।
Shares
प्रतिक्रिया