भारतसँगको विवादका कारण आगामी सेप्टेम्बरमा हुने भनिएको एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानबाट अन्यत्र सर्ने भएको छ।
एसियाली क्रिकेट परिषद (एसीसी) ले एसिया कप प्रतियोगिता पाकिस्तानबाहिर गराउने निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
समाचार अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगितालाई हाइब्रिड मोडलमा गराउने गरी राखेको प्रस्तावलाई सदस्य देशहरुले खारेज गरिदिएका हुन्।
पाकिस्तान २ देखि १७ सेप्टेम्बरबीच एसिया कप हुने तालिका छ। अब यो प्रतियोगिता श्रीलंकामा हुने सम्भावना बढेको छ। अहिले श्रीलंका यो प्रतियोगिता आयोजना गर्ने नयाँ दाबेदारमध्ये सबैभन्दा बलियो छ।
तर अहिलेसम्म एसीसीको तर्फबाट एसिया कपलाई पाकिस्तानबाहिर गराउने आधिकारिक घोषणा गरिसकेको छैन।
आईसीसीको क्यालेन्डरमा सन् २०२३ मा हुने एसिया कपको आयोजना जिम्मा पाकिस्तानलाई दिइएको थियो।
तर भारतीय क्रिकेट कन्ट्रोल बोर्डले क्यालेन्डर सार्वजनिक हुनेबित्तिकै आफ्नो क्रिकेट टोली एसिया कप खेल्न पाकिस्तान नजाने अडान लिएको थियो।
बीसीसीआईले एसिया कप कुनै तटस्थ भूमिमा गराउनुपर्ने अडान लिएको थियो। तर पाकिस्तान क्रिकेट बोर्डले भारतीय अडानको विरोध गरेको थियो। बिग्रिँदो आर्थिक स्थिति सुधार्न एसिया कपबाट पाकिस्तानले धरै आशा राखेको थियो।
विवादबीच पाकिस्तानले प्रतियोगिता हाइब्रिड मोडलमा गराउने प्रस्ताव गरेको थियो। यसअनुसार भारतको खेल पाकिस्तानबाहिर गराउने तयारी थियो। प्रतियोगिताको बाँकी खेल पाकिस्तानमा हुने बताइएको थियो। भारत यदि फाइनलमा पुगेमा उक्त खेलमा पनि पाकिस्तानबाहिर गराउने प्रस्ताव थियो।
यसबीचमा पाकिस्तान क्रिकेट बोर्डले आफ्नो प्रस्ताव अस्वीकार भए विश्वकप क्रिकेट नखेल्ने चेतावनी दिएको छ। विश्वकप क्रिकेट अक्टोबरमा भारतमा हुँदैछ। यदि भारतले पाकिस्तानमा एसिया कप नखेले भारतमा हुने विश्वकप पनि आफूले नखेल्ने पाकिस्तानी अडा छ। पाकिस्तानले विश्वकप पनि भारतबाहिर गर्न माग गरेको छ।
पाकिस्तानमा एसिया कप नहुने भएमा अब त्यो प्रतियोगिता श्रीलंकामा हुन सक्छ। ६ देश सहभागी हुने एसिया कप आयोजना गर्न श्रीलंका तयार पनि भइसकेको छ। एसिया कपमा भारत, पाकिस्तान, नेपाल, अफगानिस्तान, बांग्लादेश र श्रीलंका खेल्दैछन्।
भारत, पाकिस्तान, नेपाल एक समूहमा छन्। नेपाल पहिलो पटक यस प्रतियोगिताका लागि छनोट भएको छ। अफगानिस्तान, बंगलादेश र श्रीलंका अर्को समूहमा छन्।
भारत र पाकिस्तानबीच अन्तिम सिरिज जनवरी २०१३ मा भएको थियो। पाकिस्तानले यस क्रममा ३ वान डे र २ टी २० खेलेको थियो। त्यसपछि यी दुई ठूला प्रतियोगितामा भिडे। दुवैबीच सबै फर्म्याटका जम्मा १५ खेल भएका छन्। यिनम ८ वना डे र ७ टी-२० छन्। जसमा भारतले ११ र पाकिस्तानले ४ खेल जितेका छन्।
Shares
प्रतिक्रिया