स्पट फिक्सिङको आरोपमा पक्राउ परेका क्रिकेटर आदिल आलमले आफूले पहिले नै यसबारे जानकारी गराएको बयान दिएका छन् फिक्सिङको आरोपमा उनलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो।
जिल्ला अदालत काठमाडौंमा सोमबार थुनछेक बहस हुँदैछ।
त्यसअघि वकिल र प्रहरी समक्ष बयान दिँदा उनले आफूलाई प्रस्ताव आएको स्वीकार गर्दै त्यसबारे नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई समेत जानकारी गराएको बताएका छन्।
पुस ११ गते भएको खेलमा बायाँतर्फ कम्मरको नशामा समस्या आएपछि उनले टिम कोचलाई जानकारी गराएका थिए।
फिजियोथेरापिष्टले सामान्य उपचार गरिसकेपछि उनी पुनः मैदान प्रवेश गरेका थिए।
त्यसपछिको खेलमा अलराउण्डर उनले बलिङ गरेका थिए। टिममा तिब्रगतिको बलर नभएको कारण आफूलाई नै बलिङ गर्नको लागि कोचले निर्देशन दिएको आदिलको बयान छ।
बायाँ भागमा समस्या आएका कारण पुस १२ गते सम्पन्न काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौं ओभर र पुस १४ गते भएको जनकपुर र फार वेष्टबीचको खेलको छैटौं ओभरमा दुखाइको कारणले एक नो बल र एक वाइड बल भएको हो।
उनले आफूलाई स्पट फिक्सिङका लागि समिर शेखले प्रस्ताव गरे जसरी बलिङ नगरेको बताएका छन्। शमिर शेखले उनलाई वाट्सएपमा कल गरेर नो बल र वाइड बल गरेमा एक लाख रुपैयाँ दिने भनि म्यासेज गरेका थिए। तर सामान्य रकम प्रस्ताव गरेकाले उनले मजाक गरेको होला भनेर गम्भीरतापुर्वक नलिएको बयान दिएका छन्।
आफूलाई प्रस्ताव आएको केही समयमै फिक्सिङ बारे सामाचार आउन थालेकाले आफूलाई पनि सोही अनुसार प्रस्ताव आएको हुनसक्छ भनेर म्यानेजर बिनोद दासलाई जानकारी गराएको बताएका छन्।
विनोद दासले त्यसको भोलिपल्ट एन्टि करप्सन म्यानेजर बिर सिंहलाई पनि जानकारी गराएको बताएका छन्। आफूले समिर शेखले भने जस्तो खेल नखेलेको र रकम पनि नलिएको बताएका छन्।
समिरले नो बल र वाइड बल फाल्न भनेपछि 'अब यस्तो नगर्नु' भनि चेतावनी समेत दिएको र कुरा गर्न छाडेको बताएका छन्।
‘उक्त खेल अवधिमा मलाई कम्मर दुख्ने समस्या आएकोले मैले बलिङ गर्दा सामान्य भन्दा फरक नो बल र वाइड बल भएको हो’, उनले बयानमा भनेका छन्।
पुस ७ गते साँझ याक एण्ड यती होटलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट खटिएका एन्टी करप्सन युनिट अफिसर वीरसिंहले नेपाल टि २० लिगमा भाग लिने सम्पूर्ण टिमका खेलाडी तथा तथा अफिसियललाई राखी गरेको ब्रिफिङमा आदिल पनि सहभागी थिए।
ब्रिफिङमा करप्सन बारे सजग गराइएको थियो। एप्रोच आएमा तत्काल जानकारी गराउन भनिएको थियो।
तर आदिलको बैंक खातामा सोही मितिमा रकम जम्मा भएको पाइएको छ। जनवरी ५ तारिखमा जम्मा भएको ३ लाख ५० हजार रुपैयाँ आफैंले जम्मा गरेको बताएका छन्।
उनीसँग क्रिकेट सिक्ने साथी बाराका वरुण जैसवालसँग लिएको पुस २ गतेतिर साइकल किन्न सापटी स्वरुप लिएको बताएका छन्।
जनवरी ७ तारिखमा ५० हजार रुपैयाँ जम्मा भएको थियो। जनवरी ८ तारिखमा ५ लाख ५२ हजार ५०० रुपैयाँ जम्मा भएको थियो। जनवरी १२ तारिखमा ४ लाख ४७ हजार ४९९ गरी १० लाख रुपैयाँ जम्मा भएको अनुसन्धानमा देखिएको छ।
तर त्यो सबै रकम टी २० लिग खेल्दाको पारिश्रमिक वापतको भएको उनले बताएका छन्। उक्त रकम भारतबाट रेमिट्यान्स मार्फत आएको थियो।
पक्राउ परेका आदिल पुर्पक्षका लागि थुनामा जाने वा छुट्ने भन्ने थुनछेक बहसपछि आदेश हुनेछ।
Shares
प्रतिक्रिया