आइसल्यान्डकी कप्तान सारा जर्क गनर्सडटिरले पूर्वक्लब लियोनविरुद्धको मुद्दा जितेकी छिन्।
बीबीसीका अनुसार गर्भवती अवस्थामा क्लबले तलब नदिएपछि उनी यसविरुद्ध फिफामा उजुरी लिएर गएकी थिइन्। फिफा न्यायाधिकरणले उनको पूर्ण पारिश्रमिक भुक्तानी गर्न आदेश दिएको हो।
यो आदेशलाई अन्य फुटबल क्लबको लागि पनि चेतावनीको रुपमा लिइएको छ।
गत वर्ष मे महिनामा फिफा न्यायाधिकरणले फ्रान्सेली क्लब लियोनलाई ८२ हजार युरो पारिश्रमिक भुक्तानी गर्न आदेश गरेको हो। खेलाडीहरुको युनियन फिफप्रोले यसलाई ‘ऐतिहासिक’ भनेको छ।
‘यो खालि व्यवसाय मात्र होइन’, ३२ वर्षीया गनर्सडटिरले मंगलबार उक्त आदेश सार्वजनिक भएपछि भनिन्, ‘श्रमिक, महिला र एउटा मानवको हिसाबले यो मेरो अधिकारको कुरा हो।’
हाल युभेन्टसमा रहेकी उनले प्लेयर्स ट्रिब्युनमा लेखेकी छिन्, ‘यो विजय मभन्दा ठूलो छ। बच्चा पाउन चाहने अन्य खेलाडीलाई पनि आफ्नो खेल जीवनमा वित्तीय सुरक्षाको ग्यारेन्टी यसले गरेजस्तो अनुभूति भएको छ।’
‘तर मजस्तै फेरि कसैले यो विवादसम्म पुग्न नपरोस्’, उनले भनेकी छिन्।
यसले अन्य क्लबहरुलाई पनि चेतावनी दिएको उनको बुझाइ छ। उनी सन् २०२० मा लियोनमा आबद्ध भएकी थिइन्। उनले दुईवटा च्याम्पियन्स लिग उपाधि जितेर २०२२ जुलाईमा युभेन्टस गएकी थिइन्।
सन् २०२१ जनवरी यता फिफाले गर्भवती अवस्थामा १४ हप्ताको मातृत्व विदा र उनीहरुको तलबको दुई तिहाइ हिस्सा महिला खेलाडीले पाउने नियम लागू गरेको छ।
सन् २०२१ को सुरुतिर गर्भवती भएकी साराले डाक्टरको सल्लाहअनुसार लियोनसँग गर्भवती अवस्थाको अन्तिमतिर घर (आइसल्यान्ड) फर्किने सहमति गरेकी थिइन्।
पछि लियोनमै फर्किने चाहना भए पनि तलब नै रोकिएको थाहा पाएपछि उनी गइनन्।
खेलाडीहरुको युनियन फिफप्रोले महिला खेलाडीको लागि आवश्यक भन्दै लियोनविरुद्धको साराको दाबीलाई समर्थन गरेको थियो।
यता उनको पूर्वक्लब लियोनले उनलाई फेरि क्लबमा भित्र्याउन चाहेको बताउँदै स्वागत गर्न पाउनु गर्वको क्षण हुने बताएको छ।
योसँगै साराले ८२ हजार ९४ युरो साराले लियोनबाट पाउनेछिन्। त्यसमा ५ प्रतिशत ब्याजरकम थप हुनेछ। फिफाले यो रकम लियोनले ४५ दिनभित्र तिर्नुपर्ने आदेश गरेको छ। यदि तोकिएको समयमा पैसा नदिए क्लबले ट्रान्सफर प्रतिबन्ध भोग्नुपर्नेछ। बीबीसीबाट
Shares
प्रतिक्रिया