ad ad

समाज


इजरायली राजदूतले विपिनको घरमै पुगेर दिएको त्यो तस्बिर...

सबैले आश्वासन मात्रै दिए, ८ महिना बित्यो विपिन फर्केनन्
इजरायली राजदूतले विपिनको घरमै पुगेर दिएको त्यो तस्बिर...

गोकुल जोशी
जेठ २८, २०८१ सोमबार १२:५१, कञ्चनपुर

विपिन जोशीका बुवा महानन्दलाई चार दिनअघि इजरायली राजदूत हनान गोडेरले भेट्न आउने सूचना आएको थियो। बझाङमा अध्यापन गराउने महानन्द गोडेरलाई भेट्नकै लागि शनिबारै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित घर आएका थिए।

राजदूत गोडेरबाट विपिनको बारेमा कुनै नयाँ जानकारी पाउने आश उनमा थियो। 

राजदूतको मुखबाट विपिनबारे नयाँ खबरको पर्खाइमा रहेको विपिनको घरमा आइतबार ठूलो भीडभाड थियो। छरछिमेकी, आफन्त र सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। विपिनका आमा, बुवा र आफन्त राजदूतको पर्खाइमा बाटो कुरिरहेका थिए। 

बेलुका अबेर राजदूत गोडेर विपिनको घरमा पुगे। उनीसँगै विपिन अध्ययन गर्ने इजरायलस्थित नेगेभ कलेजका प्रेसिडेन्ट हेन सेक्ड पनि थिए।

उनीहरूलाई विपिनका बुवाआमाले खादा ओडाएर स्वागत गरे। गोडेरले विपिनका बुवा महानन्दलाई अँगालो हाले। विपिनको परिवारसँग करिब दुई घण्टा बिताए।

आमाबुवा र बहिनीले गोडेरसमक्ष विपिनको उद्धार गरेर घर फिर्ता ल्याउन आग्रह गरे। ‘हमासले लगेपछि उसको अवस्था कस्तो छ, के गरेर बसेको छ, केही अत्तोपत्तो छैन। हाम्रो लागि ऊ नै संसार हो,’ विपिनकी आमा पद्माले गहभरी आँसु बनाउँदै भनिन्, ‘हामीले छोराको रिहाइका लागि सरकारसँग धेरै हारगुहार गर्‍यौँ। अब हजुरहरूले विपिनको रिहाइ गर्न विश्वास छ।’ 

तर, राजदूत गाडरले विनिको विषयमा कुनै ठोस कुरा गरेनन्। त्यसक्रममा उनले जोशीको पारिवारिका अवस्थाबारे जानकारी लिनुका साथै विपिनलाई इजरायली नागरिक सरह सम्झेर खोजी जारी राखेको आश्वासन दिए। 
    
 ‘विपिनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे,’ उनले भने,  ‘यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ।’

जोशीलाई इजरायलबाट प्यालिस्टिनी बिद्रोही समूह हमासले बन्धक बनाएको ८ महिना पूरा भएको छ। 

यसक्रममा विपिनको परिवारले उनको खोजी र सकुसल घर फिर्तीका लागि मन्त्रीदेखि प्रधानमन्त्री र राष्ट्रपतिसम्म उच्चपदस्थ व्यक्तिसँग भेट गरिसकेका छन्। कहिले कञ्चनपुर–कैलाली आएका बेला त कहिले काठमाडौँम्रै पुगेर उनीहरूले भेट गर्दै आएका छन्।
 
सबै भेटमा विपिनका अभिभावकको एउटै याचना हुन्छ, ‘हमासको बन्धकमा रहेका छोरा विपिनलाई रिहा गरेर स्वदेश फिर्ता ल्याउन सहयोग गरिदिनू होला।’ 

तर, आठ महिना वितिसक्दा पनि विपिनको अवस्था भने पत्ता लागेको छैन। विपिनको सकुशल स्वदेश फिर्तीको याचनासहित उच्चपदस्थलाई भेट्दा उनको परिवारजनले सधैँ आश्वासन मात्रै पाउँदै आएको छ।

सबै उच्च पदस्थले कूटनीतिक पहल भइरहेकाले विपिनको चाँडै उद्धार हुने आश्वासन उनीहरूलाई दिँदै आएका छन्। विपिनका बुवा महानन्द, आमा पद्मा र बहिनी पुष्पाले तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदलाई ५/६ पटक भेट गटिसकेका छन्। 

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई पटक काठमाडौँ र दुई पटक सुदूरपश्चिमका जिल्लामा आएका बेला भेटेर विपिनलाई मुक्त गर्न माग गरे। 

कतारी अमिर तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर विपिनलाई बन्धक मुक्त गर्न कतारी अमिरसँग पनि पहल गरिदिन उनीहरूले भनेका थिए। 

त्यसबेला काठमाडौँ गएका विपिनको परिवारले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री दाहाल, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि विपिनको रिहाइको विषयमा कुराकानी गरे। कतारी अमिरलाई भेटेरै विपिनको रिहाइको लागि कुरा राख्ने सोचेका उनीहरूले अमिरलाई भने भेट्न पाएनन्।

८ महिनादेखि छोरा फर्किने आशमा बसेका उनीहरूको उच्चपदस्थलाई भेट्ने र रिहाइको लागि आग्रह गर्ने नियति नै भइसक्यो। 

विपिनबारे कुनै जानकारी नपाउँदा निराश
विपिनका आमाबुवासँग गोडेरले विपिनलाई इजरायलले नर्बिसिएको र उनको खोजी भइरहेको दोहोर्‍याए। हमासले लगेपछि विपिनबारे कुनै जानकारी पाउन नसकिएको उनको भनाइ थियो।

विपिन आफ्नो विद्यार्थी भएको बताउँदै उनले कलेजबाट परिवारको एकताको लागि भ्रमण गरिएको बताए।  

‘विपिन हिरो हो। उसले सँगै रहेका अरु विद्यार्थीको जीवन जोगायो। हमासले बन्धक बनाएपछि विपिन कहाँ छन्? हमासले कुनै क्लु दिएको छैन। बन्दी बनाएर अस्पतालमा लगेको भिडिओपछि केही प्रमाण मिलेको छैन,’ गोडेरले भने, ‘इजरायल सरकार निरन्तर खोजीमै छ। बन्धकलाई फिर्ता ल्याउन गाजाका एक एक घरमा खोजी गरिरहेका छौँ।’

साक्षात्कारपछि उनी पढ्ने कलेजका प्रमुख हेन सेक्डले विपिनको तस्बिर परिवारलाई उपहार दिए। इजरायली चित्रकार जिभ एन्जलमायरले कोरेको विपिनको तस्बिर बहिनी पुष्पाले ग्रहण गरिन्।

विपिनको रिहाइको लागि इजरायलभर यो तस्बिर टाँसिएको सेक्डले बताए। तस्बिरमा सन्देश छ, ‘विपिन काठमाडौँ फर्किनेछन्।’ 

इजरायली डिफेन्स फोर्स आईडीएफले भिडिओ सार्वजनिक गर्दै विपिनलाई प्यालिस्टिनी विद्रोही समूह हमासले नियन्त्रणमा लिएर गाजातर्फ लगेको बताएको थियो। त्यसयता विपिनबारे थप जानकारी केही आएको छैन। 

गत असोज २० गते हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। महेन्द्रनगरका विपिनलाई हमासले अपहरण गरेर लगेको उनका साथीहरूले घरमा म्यासेज पठाएका थिए।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी गत भदौ अन्तिम साता इजरायल गएका थिए। 

आतंककारीले गोली बर्साउँदा विपिन साथीभाइसँगै थिए। पहिलोपटक प्रहार गरिएको बम विपिनले समातेर बंकरभन्दा बाहिर फालेका थिए। दोस्रोपटकको बम भने बंकरमै विस्फोट भएको थियो।

विपिनले गत असोज १९ गते शुक्रबार परिवारसँग कुराकानी गरेका थिए। त्यस क्रममा उनले आमासँग खाना खाइरहेको बताएका थिए। त्यसको भोलिपल्ट दाइ किशोरसँग पनि विपिनले भिडिओ कलमा कुरा गरेका थिए। त्यसपछि विपिनको अवस्था अज्ञात छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .