सिराहाको गोलबजारमा शनिबार राति होटल सञ्चालक एक महिलाको हत्या घटना अनुसन्धानका लागि प्रहरीले उनका पतिसहित चार जनालाई पक्राउ गरेको छ।
पूर्वपश्चिम राजमार्गसँगै रहेको गोलबजार नगरपालिका- ६ मा होटल सञ्चालन गर्दै आएकी ३२ वर्षीया अनिता कुमारी साहको शनिबार मध्यराति हत्या भएको थियो।
घटना अनुसन्धानका लागि अनिताका पति महेन्द्रकुमार साहसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्ररही उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए।
‘घटना अनुसन्धानका लागि हामीले मृतक महिलाका पति महेन्द्रसहित दुई पुरुष र दुई महिलालाई नियन्त्रणमा लिएका छौँ,’ एसपी आचार्यले आइतबार बिहान नेपालखबरसँग भने, ‘अहिले पनि हामी घटनाको अनुसन्धानमै छौँ। थप विवरण पछि सार्वजनिक गर्छौँ।’ उनले पक्राउ परेका थप तीन जनाकाे नाम भने खुलाएनन्।
मृतक महिलाका पतिको गतिविधि शंकास्पद देखिएकाले उनलाई पनि नियन्त्रणमा लिइएको एसपी आचार्यले बताए।
‘घटनापछि उनी बेहोस् जस्तो देखिएका थिए,’ एसपी आचार्यले भने, ‘सुरुमा हामीलाई पनि उनी घाइते छन् भन्ने लागेको थियो, तर अस्पतालमा लगेर परीक्षण गर्दा उनमा कुनै चोटपटक देखिएन। घटनापछि डरत्रासको कारण उनी बेहोस जस्तो मात्रै देखिएका रहेछन्। उनको भूमिका पनि घटनामा शंकास्पद देखिएको छ।’
यसैबीच अनिताको शव लहानमा रहेको सरकारी अस्पतालले परीक्षण गर्न अस्वीकार गरेको छ। लहान अस्पतालका डाक्टरले शव परीक्षण गर्न नमानेपछि गएराति धरान लगिएको एसपी आचार्यले बताए।
लहानस्थित राउ स्मारक प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुनिल कुशवाहाले विवादित केसको पोष्टमार्टन आफूहरुले नगर्ने भन्दै धरान रेफर गरेका हुन्।
‘हामीसँग पोष्टमार्टम गर्ने फरेन्सिक विज्ञ छैनन्। सामान्य तालिम लिएका चिकित्सक मात्रै छन्। त्यसैले धरान लैजाँदा नै ठिक होला’ भन्ने कुरा त्यहाँका डाक्टरले गरेपछि हामीले शव परीक्षणको लागि धरान पठाएका छौँ,’ एसपी आचार्यले भने।
मृतक महिलाको घर सिराहाको धनगढी हो। उनको माइती घर पनि सिराहा नै भएको प्रहरीले जनाएको छ।
अनिताका पति महेन्द्र यसअघि पनि शरीर बन्धक तथा बलात्कार मुद्दामा तीन वर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्।
Shares
प्रतिक्रिया