सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका प्रहरीले जनाएको छ।
गएराति गोडैता नगरपालिका-८ मा मधेश प्रदेश ०२- ००७ प १२३० नम्बरको मोटरसाइकलले सडकमा हिँड्दै गरेका दुई जना पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो। गोडैताबाट बकैनियातिर जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा सर्लाहीकै चक्रघट्टा गाउँपालिका-९ खोरिया घर भएका ५० बर्षीय नागेन्द्र रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
‘राय पैदल यात्रु हुन्। तीव्र गतिमा रहेको मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले भने, ‘मृतकको शव पोस्ट मार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ।’
पञ्जियारका अनुसार ठक्कर दिएपछि मोटरसाइकल पनि पल्टिएको थियो। त्यसक्रममा मोटरसाइकल चालक गोडैता- ६ का २३ वर्षीय युवक श्याम राय घाइते भएका छन्।
ठक्करबाट चक्रघट्ट गाउँपालिका-९ कै ४५ वर्षीय श्याम राय पनि घाइते भएका छन्। उनी पनि पैदल यात्रु हुन्। घाइते दुबैको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Shares
प्रतिक्रिया