बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ।
नगरपालिकाले ‘पशुपन्छी तथा मत्स्यपालन कार्यविधि- २०७९’ निर्माण गरी चालु आर्थिक वर्षभित्रै गोरु पाल्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो।
बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवर्द्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिन लागिएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताए।
सापकोटाका अनुसार नगरपालिका भित्रका एक सय १० जना गोरु पाल्ने किसानले निवेदन दिएका छन् । प्राप्त भएका सो निवेदनका आधारमा अनुगमन गरी किसानलाई अनुदान दिइने छ।
आगामी वर्ष हल गोरु पाल्ने किसानलाई १० हजार पुग्ने गरी १० लाख बजेट विनियोजन गर्ने नगरपालिकाको लक्ष्य छ।
बढ्दो प्रविधिको विकाससँगै गोरु लगाएर जोत्ने परम्परा हराएकाले त्यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिन लागिएको नगर उप(प्रमुख राजु खड्काले जानकारी दिए।
उनले मिनि टिलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महशुस गरेकाले अनुदान कार्यक्रम ल्याएको बताए। गोरु पाल्दा वातावरणीय रुपमा समेत फाइदा हुने उनको भनाई छ। रासस
Shares
प्रतिक्रिया