मकवानपुरको राक्सिराङ गाउँपालिका- ८ धुसबगरकी ६७ वर्षीया बुद्धीमाया मोक्तान घरको लागि रासन किन्न बुधबार मनहरि बजार झरिन्। बुधबारको राति आफ्ना छोराको डेरामा बसिन्।
बिहीबार बिहानै उठेर घरका लागि नुन तेल, मसला किनिन्। मनहरि– राक्सिराङ आवत-जावत गर्न दैनिक एउटा मात्रै गाडी चल्छ। भनेको बेलामा हत्तपत्त गाडी पाइँदैन।
बिहीबार बिहान गाउँ फर्कनका लागि त्यही एउटा गाडी पनि छुट्ला भन्ने चिन्ताले हतारिएकी थिइन् बुद्धिमाया।
राक्सिराङको लागि जिप छुट्ने तयारीमा रहेछ। गाडीको अगाडि सिटमा ५ जना बसिसकेका थिए। अब बोलेरोको बाहिर पट्टीको ठाउँमा मात्रै केही मान्छे अट्ने अवस्था थियो। ज्यान मोटी भएकी बुद्धीमाया मुस्किलले गाडी चडिन्। तर, गाडीको पडाडी पनि सजिलै बस्ने ठाउँ थिएन।
‘यहाँ गाडी पाउँनै मुस्किल हुन्छ, पाए पनि अब घरसम्म कसरी पुग्ने होला भन्ने चिन्ता हुन्छ,’ उनले भनिन्, ‘यहाँबाट गाउँ जाने गाडि यही एउटा मात्रै हो। सबैलाई घर फर्कन परिहाल्यो। समानको पोका पनि छन्। हामीलाई घर बजार गर्न निकै सास्ती छ।’
उनको छेउमै दुई सय लिटरको प्लाष्टिकको ड्रम थियो। ड्रममा सकिनसकि ज्यान अड्याउँदै उनले भनिन्, ‘अहिले त यति १०/११ जना मात्रै छौँ। अहिले यसमा कति जना पो थप्छन् डाइभर भाइले।’
उनीसँगै बसेकी २४ बर्षीया कमला पाख्रिनलाई कुनबेला घर पुग्ने होला भन्ने पीर लागिरहेको थियो। ‘बाटो निकै कच्ची छ। मोडमा त लडिएला झैँ हुन्छ। तर पनि हाम्रो लागि यो भन्दा अर्को विकल्प नै छैन। घर पुग्दा बाटोको धुलोले सबै ज्यान ढाकेको हुन्छ,’ यात्रामा सास्तीको उनले बेलिविस्तार लगाइन्।
हिउँदमा मात्रै गाडी चल्ने राक्सिराङमा सामान बोक्नेदेखि मानिसको यात्राको सवारी भनेकै यही एउटा बोलेरो जिप हो। पछिल्लो समय फाट्टफुट्ट अटो चल्न थाले पनि अटो भाडा महँगो पर्ने भएको कारण धेरैजसो स्थानीय बोलेरोमा जोखिमपूर्ण यात्रा गरिरहेका छन्।
गाउँपालिकाको ८ नम्बर वडामा पर्ने पङ्थली जानका लागि सोही बोलेरोमा बसेका २१ बर्षीय सुरेश तामाङले अटो भाडा निकै महङ्गो भएको बताए।
एउटा अटोले ७ जनासम्म चढाउने गरेकाे छ। तर, धेरै यात्रु चढाए पनि बोलेको भन्दा डबल भाडा लाग्छ। अटोलाई चर्को भाडा तिर्नुभन्दा बरु बोलेरोमा झुण्डिएरै भए पनि यात्रा गर्छन् स्थानीय।
‘सधैंभरी यस्तै हो। समान पनि टन्नै हुन्छ। मान्छे पनि टन्नै हुन्छ। यसरी एउटै गाडीमा धेरैजना चड्नुहुन्न भन्ने त थाहा छ। तर के गर्नु? सबैलाई आ-आफ्नो घर पुग्न परिहाल्यो,’ उनले भने।
राक्सिराङमा चल्ने त्याे बोलेरोको क्षमतामा ११ देखि १३ जनासम्म यात्रु बाेक्ने हो। जीपको अगाडि भागमा मुस्किलले ४ जना अटाउँछन्। ती बाहेकका सबै यात्रु अटाइन नअटाइ सामानसँगै बाहिरी भागमा बस्नुपर्छ। सामानसहित बोलेरोले २५ देखि ३० जनासम्म यात्रु ओसार्ने गरेको छ।
राक्सिराङ मकवानपुर जिल्लाको विकट गाउँपालिकाको रुपमा चिनिँदै आएको छ। विकट भएकै कारण यहाँ सडक र यातायातका साधनको सहज पहुँच छैन। ट्रयाक मात्रै खोलिएका धुलाम्मे सडकमा धेरै गाडीहरु गुड्दैनन्।
‘आवत जावत गर्ने गाउँका मान्छेलाई जसरी पनि गन्तव्यमा पुर्याउनु पर्ने बाध्यताका कारण अटेजति मान्छे बोक्दै आएको छु’ चालक राजन मोक्तानले नेपालखबरसँग भने।
‘गाउँका मान्छेलाई छोडेर जाने कुरमा भएन। घरायसी सामान किन्नको लागि मनहरि बजार आएका हुन्छन्,’ उनले भने, ‘सामान पनि लानै परिहाल्यो। धेरै मान्छे बोक्नु हाम्रो रहर भन्दा पनि बाध्यता नै हो। एउटा गाडी मात्रै जाने ठाउँमा त झन् कुरेर नै भए पनि सबैजना लानै पर्ने हुन्छ। क्षमता त त्यही १०\१५ जना अटाउने हो याे बोलेरोको। तर, कुनै बेला त सामानसहित ३० जनासम्म बोक्नुपर्छ।’
त्यसोत, संघीय राजधानी काठमाडौँको पनि राजधानी रहेको जिल्ला हो मकवानपर। १० स्थानीय तह रहेको मकवानपुरका सबै भू–भाग प्रदेशको राजधानी हेटौँडा बजार जस्ताे सबै कुराले सुविधासम्पन्न छैनन्।
भौगोलिक विकटताका कारण जिल्लाको राक्सिराङ गाउँपालिका नागरिक अझै पनि विभिन्न समस्या झेल्न बाध्य छन्। ती समस्यामध्येको पहिलो समस्या हो- सडक र यातायातको असुविधा।
गाउँमा पुग्नका लागि यहाँ सबै वडामा सडक सञ्जाल अझै बनेका छैनन्। भएका सडक पनि कच्ची र धुलाम्मे छन्।
ती सडकमा हिउँदमा जसोतसो डोजरको सहाराले बाटो सम्याउँदै गाडी गुड्छन्। हिउँदमा बिरामी परेका स्थानीयले अकालमै घरमा ज्यान फाल्नु पर्दैन। लामो बाटो भएपनि हेटौंडाका अस्पतालसम्म ल्याउन सकिन्छ। तर, वर्खाको बेला त्यो सम्भावना पनि रहँदैन।
पछिल्लो समय चर्चित बनेको परेवाभिरको बाटो निर्माणको काम यतिबेला चलिरहेको छ। उक्त सडक बनेपछि यात्रा केही सहज हुने राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल बताउँछन्। ‘त्यो बाटो बनेपछि भने लोकल बसहरु समेत सञ्चालन गर्न सकिन्छ,’ उनले भने।
Shares
प्रतिक्रिया