ad ad

समाज


युवतीलाई अपहरण गरेर भारत लैजाँदै गर्दा तीन जना पक्राउ

युवतीलाई अपहरण गरेर भारत लैजाँदै गर्दा तीन जना पक्राउ

नेपालखबर
असोज २३, २०७६ बिहिबार ९:३९,

युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएकी १६ वर्षीया युवतीलाई अपहरण गरी लगेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको हो।

लहानस्थित दुर्गा मन्दिरमा मेला तथा सांस्कृतिक कार्यक्रम हेरेर आज बिहान ३ बजेतिर फर्किरहेकी ती युवतीलाई बाटोबाटै अपहरण गरेको आरोपमा सिरहा नगरपालिका–९ निवासी २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र सिरहा नगरपालिका–८ निवासी २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।

उक्त गाडीमा रहेका अन्य दुई जना भाग्न सफल भएको र उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। अपहरण गरी लग्दै गर्दा बाटो छेउमै रहेको नालामा स्कारपियो फसेपछि ती युवतीले दिसा गर्न जान्छु भन्दै बहाना बनाई अपहरणकारीको कब्जाबाट भाग्न सफल भएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

अपहरणकारीको कब्जाबाट भाग्न सफल भएकी युवतीकै सूचनाको आधारमा प्रहरीको टोलीले गाडीसहित तीनै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेकाको साथबाट लागुऔषध नेट्रोभेट ट्याब्लेट ३०० पिस, आठ राउण्ड गोली, पर्स एक थान र रामप्रकाश गोइतको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै सिरहा प्रहरीले एसएलआर राइफलको गोलीसहित आजै एक युवकलाई पक्राउ गरेको छ। भारतबाट स ९ प १७२९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेको अवस्थामा प्रहरीचौकी बरियारपट्टिबाट खटिएको प्रहरी टोलीले एक थान एसएलआर राइफलको गोलीसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी २० वर्षीय रामविनय साहलाई पक्राउ गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .