ad ad

समाज


फेसबुकले सम्भव बनायो विपन्न बालिकाको उपचार

फेसबुकले सम्भव बनायो विपन्न बालिकाको उपचार

नेपालखबर
असोज ७, २०७६ मंगलबार ११:५४,

धेरै सामाजिक सञ्जाल फेसबुकलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्दै आएका छन् । कतिपयले त फेसबुकको दुरुपयोग पनि गरेका छन् । सामाजिक सञ्जालकै सदुपयोग गर्दै स्वास्थ्यकर्मी गीता रखाली मगरले एक विपन्न बालिकाको उपचारका लागि सहयोग जुटाएकी छन्।

तनहुँको ब्यास नगरपालिका–११ का चार वर्षीया निर्मला चेपाङ गत भदौ २६ गते घरमै खेलिरहेको अवस्थामा तातो पानीले जलेर घाइते भएकी थिइन्। कम्मरमुनिको भाग जलेर घाइते भएकी चेपाङलाई उपचारका लागि परिवारले सोही दिन दमौली अस्पताल ल्याएको थियो।

दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि पोखरा लैजान चिकित्सकले सुझाब दिए पनि चेपाङ परिवारले आर्थिक अभावमा उनलाई पोखरा लैजान सकेन र दमौली अस्पतालमै केही दिन बालिकाको उपचार गरियो।

चेपाङ परिवारको अवस्था थाहा पाएपछि अस्पतालमै कार्यरत अहेब मगरले बालिकाको तस्बिरसहित फेसबुकमा पोष्ट गर्दै सहयोगका लागि आह्वान गरेकी थिइन्। फेसबुककै माध्यमबाट पीडित बालिकाको उपचारका लागि तत्कालै रु ५० हजार संकलन गर्न सफल भएको मगरले जानकारी दिइन्।

‘फेसबुकमा हालेपछि विभिन्न व्यक्ति र संघ संस्थामार्फत् सहयोग जुट्यो,’ उनले भनिन्, ‘उक्त रकमबाट थप उपचारका लागि पीडित बालिकालाई पोखरा पठाइयो।’ पीडित बालिकाको पोखरामा उपचार भइरहँदा पनि जिल्लामा उनको उपचारका लागि अन्य व्यक्तिले पनि सहयोग प्रदान गरिरहेका थिए। मगरका अनुसारपीडित बालिकाको उपचारका लागि रु एक लाख ३३ हजार ५०० संकलन भएको छ।

उनको उपचारका लागि रु ५८ हजार पाँच सय खर्च भएको र बाँकी रु ७५ हजार दमौलीस्थित सनराइज बैंकमा खाता खोलेर जम्मा गरिएको छ। ‘बालिकाको उपचारपश्चात् स्वास्थ्यमा सुधार आएको र घाउ निको हुने क्रममा छ,’ उनले भनिन्, ‘ड्रेसिङको काम दमौली अस्पतालमै भइरहेको छ।’ निर्मला चेपाङ सहयोग अभियानमार्फत् स.कलन भएको रकम बैंकमा जम्मा गरेर उक्त बैंकको चेक आज पीडित बालिकालाई हस्तान्तरण गरिएको छ।

पीडित बालिकाकी आमा धनमाया चेपाङले आर्थिक अभावमा छोरीको उपचारमा समस्या भएको अवस्थामा रकम जुटाएर सहयोग गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गरेकी छन्। पीडित बालिकाका बुबा गणेशमान चेपाङ व्यास नगरपालिका–११ स्थित एक इँट्टामा दैनिक मजदूरी गर्दै आएका छन्। दैनिक मजदूरी गरेर कमाएको रकमले ६ जनाको परिवार पाल्नुपर्ने अवस्था रहेको छ।

‘दैनिक गुजारा गर्न नै गाह्रो भएको अवस्थामा छोरीको उपचार गर्ने समस्या भएको थियो,’ उनले भने, ‘रकम संकलन गरेर उपचार गरेपछि छोरीको स्वास्थ्य सुधार हुँदै गएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .