ad ad

समाज


गर्मीः तराईमा धमाधम विद्यालय बन्द गरिँदै, पानीको हाहाकार

गर्मीः तराईमा धमाधम विद्यालय बन्द गरिँदै, पानीको हाहाकार

नेपालखबर
असार २, २०७६ सोमबार २:५६,

केही दिनदेखि बढेको गर्मीले देशभर जनजीवन प्रभावित भएको छ। विशेषगरी यतिबेला तराई क्षेत्र गर्मीले आक्रान्त बनेको छ।

तापक्रम ४० डिग्री नाघेपछि तराई–मधेशका मानिसलाई घरबाट बाहिर निस्कनसमेत गाह्रो भइरहेको छ। 

गर्मीकै कारण तराईका विभिन्न जिल्लाका विद्यालय धमाधम बन्द गर्न थालिएका छन्।

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, नवलपरासीलगायत विभिन्न जिल्लामा उखरमाउलो गर्मीका कारण पठनपाठन सञ्चालन गर्नै समस्या भएपछि ३ देखि ७ दिनसम्मका लागि विद्यालय बन्द गरिएका हुन्।

अन्य जिल्लामा पनि विद्यायलय बन्द गर्ने क्रममा छन्।

बढ्दो तापक्रमका कारण तराईका कतिपय जिल्लामा मुहान सुक्दा खानेपानीको हाहाकार मच्चिएको छ। जनकपुरमा कल र इनार, चापाकलमा पानी आउन छाडेको छ।

धनुषा तथा महोत्तरीको उत्तरी क्षेत्रका दर्जनभन्दा बढी गाउँका बासिन्दा खानेपानीको चर्को मारमा छन्। महोत्तरीका गौशाला, बर्दिबास, खयरमारा, बाहुनमारा, टुटेश्वर, हाथिलेट, धनुषाका बटेश्वर, तुल्सी, लालगढ, लवटोली, ढल्केवर, कुसुमविसौना, चित्रपुर, गोदार, धारापानीलगायत गाउँमा पनि पानी अभाव भएको स्थानीयले जनाएका छन्।

बारामा पनि धेरै ठाउँमा चापाकलको पानी सुक्दा समस्या भइरहेको स्थानीयले बताएका छन्। रौतहटमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बजार सुनसानजस्तै बनेका छन् ।

गर्मीका कारण तराईका अस्पतालमा छाला, झाडापखला र आँखाका रोगी बढेका छन् । दिउँसो चर्को घाम रहेकाले सकभर घर बाहिर ननिस्कन र निस्कन परे पातलो प्रकारको लामबाहुले कपडा लगाउन तथा छाता ओढ्न चिकित्सकहरुले सल्लाह दिएका छन्।

यसकारण बढिरहेको छ गर्मी
मनसुन आउने समय पछि धकेलिँदा गर्मी बढेको मौसमविद्ले बताएका छन्। उनीहरूका अनुसार मौसमी प्रणाली बंगालको खाडीमै रोकिएका कारण नेपालमा मनसुन भित्रिन ढिलाइ भएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यतिबेला बंगालको खाडी हुँदै जलवाष्पयुक्त वायु आइसक्नुपर्थ्यो ।

बंगालको खाडी र अरब सागर वरिपरि न्यूनचापीय प्रणाली विकास भएका कारण मनसुनी गतिविधि अघि बढेको छैन । बंगलादेशमा केही दिनदेखि मनसुन सुरु भएको छ । मनसुनी गतिविधि रोकिएर आकाशमा बादल बन्न नपाएपछि काठमाडौंसहित देशभर तापक्रम बढिरहेको छ ।

काठमाडौंमा यो साता ३३.५ डिग्रीसम्म तापक्रम रेकर्ड भएको छ । आइतबार भने ३२.५ मा घटेको छ । पश्चिम नेपालतिर तापक्रम ४० डिग्री नाघिसकेको छ ।

सामान्यतया नेपालमा जेठ अन्तिम साता (जुन १०) मा मनसुन सुरु हुने भए पनि केही वर्षयता धकेलिरहेको छ । अझै चार/पाँच दिन मनसुन प्रवेश गर्ने सम्भावना नदेखिएकाे माैसमविद्ले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .