भारतीय कम्पनी सिरम इन्स्टिच्युटले पुसअघि नेपालमा कोरोनाविरुद्धको खोप निर्यात गर्न नसक्ने जनाएको छ।
नेपालले सिरमबाट खरिद गरेको २० लाख मध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन। नेपालले भुक्तानीसमेत गरिसकेको कोरोनाविरुद्धको खोप सिरमले पुसअघि दिन नसक्ने जनाएको हो।
समाचार एजेन्सी रोयटर्सले सिरम इन्स्टिच्युटका अधिकारीहरुलाई उद्धत गर्दै सो समाचार दिएको छ। भारतमा कोरोना महामारीको नयाँ लहर शुरु भएपछि भारतीय सरकारले खोप निर्यातमाथि प्रतिबन्ध लगाएको छ। सिरमले कोभ्याक्स र अन्य देशहरुलाई २०२१ को अन्त्यतिरबाट मात्रै खोप निर्यात शुरु हुने अपेक्षा लिएको जनाएको छ।
‘भारतीय जनताको जीवनको मूल्यमा हामीले खोपको निर्यात कहिले पनि गर्ने छैनौँ भनेर दोहोर्याउन चाहान्छौँ। देशको खोप लगाउने अभियानमा गर्नुपर्ने सबै कुरा गर्न हामी प्रतिवद्ध रहेका छौ’ सिरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ। कोरोना संक्रमणितको संख्या बढेपछि भारतले एक महिनाअघि नै खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यसअघि भारतले ६ करोड ६० लाख डोज खोप विभिन्न देशलाई बिक्री तथा अनुदानमा दिएको थियो।
समाचार एजेन्सी रोयर्टसका अनुसार भारतका तीनजना सरकारी अधिकारीहरुले अक्टोबर महिनाअघि खोपको कुनै ठूलो परिणाम बिदेशमा निर्यात गर्ने संभावना नभएको बताएका छन्।
भारतले कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालको खोप कार्यक्रम नराम्रोसँग प्रभावित भएको छ। सिरमबाट खोप खरिद गरेर नेपालसहितका विभिन्न देशलाई दिने कोभ्याक्सको योजना पनि भारत सरकारको निर्णयबाट प्रभावित हुने सम्भावना बढेको छ।
कोभ्याक्सले सिरमसँग १४ करोड डोज खोप किन्ने सम्झौता गरेको थियो। नेपालले जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप कोभ्याक्सबाट प्राप्त गर्ने थियो।
प्रतिक्रिया