ad ad

समाज


लमजुङमा ५.८ म्याग्निच्युडको भूकम्पः ३ जना घाइते, थुप्रै घर भत्किए

लमजुङमा ५.८ म्याग्निच्युडको भूकम्पः ३ जना घाइते, थुप्रै घर भत्किए

नेपालखबर
जेठ ५, २०७८ बुधबार २:३७,

लमजुङमा आज बिहान ५.८ म्याग्निच्युडको भूकम्प जाँदा भएका क्षतिबारे विवरण संकलन भइरहेको छ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल अहिले प्रहरीसहितको टोली लिएर घटनास्थल अवलोकन गरिरहेका छन्।

त्यहींबाट हामीसँग टेलिफोनमा कुरा गर्दै उनले अहिलेसम्म ३ जना घाइते भएको सूचना प्राप्त भएको जानकारी दिए। भूकम्पले थुप्रै घर भत्किएको, चर्किएको उनले बताए।

‘क्षतिको विवरण संकलन जारी छ,’ नेपालखबरसँग लुइँटेलले भने, ‘एकिन गर्न बाँकी छ।’

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार बेंसीसहर वडा नम्बर ११ की ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएकी हुन्। घर भत्केर गाह्रोले थिच्दा उनी घाइते भएको र अहिले उपचार जारी छ भने अवस्था सामान्य छ।

त्यसैगरी मस्र्याङ्दी वडा नम्बर ६, ठूलोबेंसीका २२ वर्षीय गोविन्द अधिकारी भूकम्प आएपछि बार्दलीबाट हामफाल्दा बेहोस भएका छन्। उपचार जारी रहेको र अहिले होस आइसकेको प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए।

यसैगरी बेंसीसहर नगरपालिका वडा नम्बर ६ मा घरको गाह्रोले पुर्दा ३६ वर्षीय उमा गुरुङ घाइते भएको उनले जानकारी दिए।

अहिलेसम्मको रिपोर्टिङअनुसार भूकम्पका कारण मृत्युचाहिँ भएको छैन कि भन्ने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए। तर विवरण संकलन जारी रहेकाले थप क्षतिको कुरा आउन सक्ने सम्भावना पनि रहेको उनको भनाइ छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर आज बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा ५ दशमल ८ म्याग्निच्युडको भूकम्प गएको हो। धक्का कास्की, गोरखा, तनहुँ, धादिङ, काठमाडौंसम्म महसुस भएको थियो।

‘यो भूकम्प २०७२ सालको महाभूकम्पकै परकम्प हो,’ भूकम्प मापन केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले नेपालखबरसँग भने, ‘यो मध्यमस्तरको भूकम्प हो। सामान्यतया यत्तिको भूकम्पले ठूलो क्षति गर्दैन।’

उनका अनुसार यो २०७२ सालकै महाभूकम्पको परकम्प हो। परकम्प अझै केही वर्षसम्म गइरहने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .