ad ad

समाज


कहाँ–कहाँ वर्षा भयो, वायु प्रदूषण कति घट्यो?

कहाँ–कहाँ वर्षा भयो, वायु प्रदूषण कति घट्यो?

नेपालखबर
चैत १९, २०७७ बिहिबार २:२५,

देशका केही स्थानमा वर्षा भएका कारण वायु प्रदूषणको मात्रा केही कम भएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा लगभग मध्यमस्तरको वर्षा भएकाले यी स्थानमा वायु प्रदूषणको मात्रा केही घटेको हो। यसबाहेक बाँकी प्रदेशमा भने पानी नपरेकाले प्रदूषणको मात्रा उस्तै भएको उनले बताइन्।

‘वर्षाले वायु प्रदूषण केही हदसम्म घटाएको हो, तर पूरै क्लियर गरेको होइन,’ उनले भनिन्।

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आज पनि वर्षा हुने सम्भावना छ। तर भोलि शुक्रबारदेखि वर्षा गराउने प्रणाली पुनः कमजोर भएर जाने भएकाले पानी पर्न रोकिने र पुनः वायु प्रदूषणको मात्रा बढ्ने मौसमविद् बासीले बताइन्।

‘वायु प्रदूषण केही दिन अझै बढ्ने सम्भावना देखिन्छ,’ उनले भनिन्।

डढेलोले बढायो वायु प्रदूषण
मौसमविद् बासीका अनुसार यस वर्ष जाडो महिना र अहिले जारी प्रि-मनसुनमा वर्षा निकै कम भएकाले वनजंगल सुक्खा भई देशभर डढेलो लाग्ने क्रम बढेको र त्यसले वायु प्रदूषण बढाएको हो।

‘यस वर्ष विन्टर (जाडो महिना) र प्रिमनसुनमा वर्षा नै हुन सकेन,’ मौसमविद् बासीले बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘जसले गर्दा वनजंगलका पातपतिङ्गर ज्यादै सुक्खा रहे र आगोले भेट्नासाथ डढेलो लागिहाल्ने भयो, यसले गर्दा वायु प्रदूषण बढ्यो।’

हरेक वर्ष प्रि-मनसुन सिजनमा भारतको राजस्थानलगायत क्षेत्रबाट पश्चिमी वायुसँगै कण भित्रिने र त्यसले नेपालमा वायु प्रदूषण गराउने नियमित प्रक्रिया भए पनि यस वर्ष भने नेपालमै फैलिएको डढेलोका कारण वायु प्रदूषण ह्वात्तै बढेको उनको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबारसम्म वर्षाको सम्भावना यस्तो छ :

चैत १९ गते बिहीबार
दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

चैत २० गते शुक्रबार
दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

चैत २१ गते शनिबार
दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .