ad ad

समाज


कोरोना विरुद्धको खोप प्रमाणित हुने वित्तिकै नेपालीले प्रयोग गर्न पाउँछन्ः स्वास्थ्यमन्त्री ढकाल

कोरोना विरुद्धको खोप प्रमाणित हुने वित्तिकै नेपालीले प्रयोग गर्न पाउँछन्ः स्वास्थ्यमन्त्री ढकाल

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार १०:४६,

सरकारले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी भएको बताएको छ।

विश्व प्रति-जैविक सचेतना सप्ताहका अवशरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन्।

स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडि बढेको बताए। अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिनहरु प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेश मार्फत कानून संशोधन गरिएको उनले बताए।

उनले भने, ‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस भनेर कानूनी रुपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ। भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस् भनेर कानूनी अफ्ठ्यारो नपरोस् भनेर कानूनी बाटो खुला र सहज गरिएको हो। भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने वित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ।’

मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरु म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताए। उनले तरकारी, फलफूल लगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको बताए। मंसिर ३ गतेदेखि ९ गतेसम्म चलेको सप्ताहका अवशरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो।

प्रतियोगितामा ललितकला क्याम्पसमा अध्ययनरत विनिता खड्का प्रथम, होप इन्टरनेशनल कलेजमा अध्ययनरत स्वस्तिमा सापकोटा द्वितिय र नेशनल स्कुल अफ साइन्समा अध्ययनरत राजकी अर्याल तृतिय भएका छन्। उनीहरुलाई नगदसहित सम्मान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .