ad ad

समाज


गोकर्णस्थित नेपाल ट्रष्टको जग्गा समस्या दुई साताभित्रै समाधान हुने

गोकर्णस्थित नेपाल ट्रष्टको जग्गा समस्या दुई साताभित्रै  समाधान हुने

नेपालखबर
साउन ११, २०७६ शनिबार १३:२६,

गोकर्णस्थित नेपाल ट्रष्टको कार्यालयका कारण स्थानीयवासी र बस्तीमा परेका समस्या दुई साताभित्र समाधान गरिने भएको छ।

ट्रष्टको अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ क्षेत्रमा पर्ने जग्गाको स्थलगत अनुगमन गर्नु भई केही दिनमै समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

‘यहाँ आइपरेका समस्या समाधानका लागि नगरपालिका र ट्रष्टको कार्यालयबीच १० दिनमै काम हुन्छ, पहिले समाधान हुन नसकेको पुनरावृत्ति अब हुने छैन, तत्कालका लागि आवश्यक पर्ने काम छिटो गरी समस्या समाधान हुनेछ’, उनले भने। ट्रष्टको सम्पत्ति रक्षा गर्न दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिवद्धता पनि उपप्रधानमन्त्री पोखरेलले व्यक्त गरे। ट्रष्ट कानून र नियमका आधारमा चल्ने भएकाले सम्पत्ति कसैले हडप्न नपाउने पनि उनले बताए।

राज निकुञ्जका नाममा चिनिने गोकर्ण रिसोर्ट रहेको करिब चार हजार रोपनी क्षेत्रफललाई घेरेर बनाइएको पर्खाल भत्कँदा दुई साता अघिको भारी वर्षाका कारण माकालबारीको बस्ती डुबानमा परेको थियो। ट्रष्टको जग्गाको निकास माकालबारीमा बनेकाले बास उठ्न लागेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

अवलोकनका क्रममाा सङ्घीय सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा सदस्य जयराम महतलगायत जनप्रतिनिधि पनि सहभागी थिए।

नगर प्रमुख चालिसेले ट्रष्टको अध्यक्षता गर्नुहुने मन्त्रीले छ पटक अवलोकन भ्रमण गर्दा पनि नगरवासीले भोग्नुपरेको समस्या समाधान हुन नसकेको बताएका थिए। यसपटक समस्या समाधान भई नगरवासीले दुःख भोग्नु नपर्ने आशा गरिएको उनले उपप्रधानमन्त्री पोखरेललाई सुनाए।

गोकर्णेश्वर मन्दिरअघिबाट ट्रष्टको जग्गाको छेउहुँदै दक्षिणढोका निस्कने सडक खुला गर्न पनि नगरपालिकाले माग गर्दै आएको छ। यो सडक सार्वजनिक सवारी साधन सञ्चालनका लागि खोलिदिए गोकर्णेश्वर मन्दिरबाट भगवती स्थान हुँदै जोरपाटी निस्कने सडक जाम नहुने जनप्रतिनिधिको भनाइ छ।

वरिपरिबाट ट्रष्टको जग्गा घेरिएको पर्खाल भत्किएर मानिस छिर्न सक्ने भए पनि बनाउन ध्यान नदिँदा काठपातलगायत चीजबीज चोरी भइरहेको छ। यहीँभित्र रहेको स्थानीयवासीको आस्थाको केन्द्र वनदेवी मन्दिर प्रवेश गर्नसमेत नेपाली सेनाले बन्देज लगाउँदै आएको छ।

मन्दिरसम्म निर्वाधरुपमा जान पाउनुपर्ने मागसमेत गरिएको नगरपालिका धार्मिक समितिका संयोजक दिवाकर भण्डारीले बताए। पूर्वराजपरिवारका सदस्यको नाममा रहेको यो जग्गा विसं २०६२÷२०६३ को आन्दोलनपछि नेपाल ट्रष्टको कार्यालयका नाममा नामसारी भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .