गत बुधबार सर्वपक्षीय बैठकको निर्णय भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक आदेश जारी गर्यो।
आदेशमा भनिएको छ, ‘जो जहाँ छौं त्यही बसेर चाडपर्व मनाउँन हार्दिक अनुरोध गर्दै कार्तिक १ गतेबाट उच्च जोखिम रहेका स्थानहरुबाट यस जिल्लामा प्रवेश गर्दा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट साथ प्रवेश गर्न जानकारी गराइन्छ।’
रिपोर्ट नहुनेलाई अनिवार्य रुपमा तोकिएको क्वारेन्टिनमा बस्नुपर्ने अन्यथा आदेशको अवज्ञा गर्ने, गराउनेलाई स्थानीय प्रशासन ऐन, २०२८ र संक्रमण ऐन २०२० अनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जारी गरेको आदेशमा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नवराज बरालले काठमाडौं उपत्यका, प्रदेश २, भारत र तेस्रो मुलुकबाट जिल्ला प्रवेश गर्नेहरुका हकमा ७२ घण्टे पीसीआर रिपोर्ट हेर्ने सर्वदलीय सन्यन्त्रले निर्णय गरेको बताए।
‘एकदमै प्रभावित क्षेत्रबाट आउनेहरुको रिपोर्ट हामीले नाकामा परीक्षण गर्नेछौं। उहाँहरुसँग रिपोर्ट नभएको अवस्थामा तोकिएको स्थानमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ,’ बरालले भने, ‘राजमार्गमा भने कुनै रोकतोक छैन। तर, त्यहाँ सवारीमा स्वास्थ्य सावधानी अपनाएको, नअपनाएको हामी हेर्छौँ।’
तराई लगातका जिल्लामा बढ्दो संक्रमण र उपत्यकामा संक्रमण कम भएको बेला यस्तै आदेश केही समय अघि उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीहरुले दिने गरेका थिए। उनीहरुले उपत्यका छिर्नका लागि पीसीआर परीक्षण रिपोर्ट अनिवार्य गरेका थिए। परीक्षण नगराई बाहिरबाट आएका मानिसहरुलाई घरबेटी घर प्रवेश दिएका थिएनन्। सोही कारण प्रयोगशालाहरुमा परीक्षण गराउनेको भीड बढ्दो थियो।
तर, अहिले दशैँ, तिहार, छठजस्ता चाडपर्व नजिकिँदै गर्दा मानिसहरु काठमाडौं उपत्यका लगायत शहरहरुबाट गाउँ फर्कने क्रम बढ्दो छ। ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार दैनिक २५ हजार बढीले सडकमार्गबाट मात्रै उपत्यका छाड्ने गरेका छन्।
अहिले मुख्य रुपमा कोरोनाको हटस्पट देखिएको उपत्यकाबाट आउनेलाई विभिन्न जिल्ला तथा स्थानीय तहले पीसीआर रिपोर्ट अनिवार्य गरेका छन। स्याङ्जालगायत देशका एक दर्जन जिल्ला, स्थानहरुमा प्रवेशका लागि पीसीआर रिपोर्ट माग्ने गरिएको छ।
यस्तै लामो समयदेखि कोरोना संक्रमित संख्या शून्य रहेको हुम्ला जिल्लामा हवाई र स्थल दुबै मार्गबाट हुदै जिल्ला भित्रिनेले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने नियम जारी गरेको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो।
केही स्थानीय निकाले हवाई यातायातबाट आउनेलाई समेत पीसीआर रिपोर्ट अनिवार्य गरेका छन्। हुम्लासँगै, लुक्ला, डोल्पा, जुम्ला, रारामा हवाईमार्फत यात्रा गर्नेका लागि अहिले पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ।
सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने तेन्जिङ हिलारी विमानस्थल, लुक्लामा उडान भर्ने सबै एयरलाइन्सलाई पत्र नै लेखेर पीसीआर रिपोर्ट नेगेटिभ सुनिश्चित गरेरमात्रै उडान गर्न गराउन निर्देशन दिएको छ।
यता तनहुँ जिल्ला प्रशासन कार्यालयले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय भन्दै १० दिन दसैँ मनाउँन आएकालाई पनि १४ दिन क्वारेन्टिन बस्नैपर्ने निर्देशन जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्रांगत बरालले गाउँ आउन पीसीआर अनिवार्य नगरे पनि आफ्नो र सामाजको सुरक्षाका लागि पनि १४ दिन क्वारेन्टिन बस्नैपर्ने बताए।
‘पीसीआर रिपोर्ट नभए पनि गाउँ आउन हामीले रोकेका छैनौं तर बाहिरबाट आएपछि अनिवार्य १४ दिन क्वारेन्टिनमा भने बस्नुपर्छ। बसे नबसेको हेर्न हामीले टोलटोलमा समिति बनाएका छौं,’ बरालले भने।
गण्डकीकै अर्को जिल्ला पर्वतले पनि बाह्य जिल्लाबाट आएका व्यक्तिलाई अनिवार्य १४ दिनको क्वारेन्टिनमा राख्नुपर्ने निर्णय गरेको छ। उक्त निर्णयको कार्यान्वयनका लागि वडाध्यक्ष र सदस्यहरुलाई अनुगमनको जिम्मेवारी तोकिएको छ।
काठमाडौंसँगै जोडिएको धादिङमा दसैंलाई लक्षित गरेर निषेधाज्ञा जारी गरिएको छ। केन्द्र सरकारले जिल्ला प्रशासनलाई दिएको अधिकारको प्रयोग गरी केही निषेधका कार्यक्रमहरू थप गरिएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रबहादुर मल्लले जानकारी दिए।
प्रशासनले लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनको सम्बन्धमा भने केन्द्र सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न भनेको छ।
प्रशासनले चाडपर्व मनाउँदा एकघर परिवारमा बसिरहेका सदस्यबाहेक नाता, कुटुम्ब तथा छिमेकीहरूमा जाने भेला हुने कार्य नगर्न सबैलाई अनुरोध गरेको छ। यस्तै सामूहिक पूजा, अर्चना, प्रार्थना नगर्न पनि प्रशासनको आग्रह छ।
पीसीआर रिपोर्ट अनिवार्य गर्नुको अर्थ छैनः विज्ञ
जनस्वास्थ्यविज्ञ डा.रवीन्द्र पाण्डे एक जिल्लाबाट अर्को जिल्लामा जाँदा पीसीआर रिपोर्ट माग्ने कुरा व्यवहारिक नभएको बताउँछन्। उनले त्यसका अलवा सावधानीमा जोड दिनुपर्ने बताए।
‘पीसीआर रिपोर्ट नेगेटिभ भनेको परीक्षण गरुञ्जेलसम्मको लागि हो। रिपोर्ट आएको ७२ घण्टा हैन, केही समयमा पनि हामी कोही संक्रमितको सम्पर्कमा आयौं भने हामीलाई पनि संक्रमण हुनसक्छ’, पाण्डेले भने, ‘बरु यसपल्ट दशैं जो जहाँ छौं त्यही मनाउँने गरौं। जानैपर्ने भए स्वास्थ्य मापदण्डलाई अनिवार्य पालना गरौं।’
पाण्डेले लामो समय घरमा गएर बस्नुपर्ने अवस्थामा मात्रै गाउँ जान सुझाए। उनले कर्मचारी, व्यापारी वा जो छिट्टै टीका लगाएर फर्कनुपर्ने हुन्छ, त्यस्तो मान्छे नजाँदा नै उपर्युक्त हुने बताए।
प्रतिक्रिया