ad ad

समाज


माैसम : बिस्तारै वर्षा घट्दै, चिसो बढ्दै

माैसम : बिस्तारै वर्षा घट्दै, चिसो बढ्दै

नेपालखबर
भदौ २३, २०७७ मंगलबार २:५६,

नेपालमा अब बिस्तारै वर्षा कम हुँदै गएको र चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार वर्षा हुने क्रम जारी नै रहे पनि पहिलेको तुलनामा मात्रा कम हुँदै गएको हो।

‘अहिले दुई/तीन घण्टा पानी पर्दा पहिले एक घण्टा परेजतिको प्रभाव पर्छ,’ मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘त्यस्तो उल्लेख्य मात्रामा तापक्रम घटिनसकेकाे भए पनि बिहान–बेलुका चिसो महसुस हुन थालेको छ, बिस्तारै दिन पनि छाेटिँदैछन्।’

उनका अनुसार जुलाई र अगस्टलाई वर्षाका लागि ‘पिक सिजन’ मानिन्छ भने सेप्टेम्बरलाई खासै पानी पर्ने महिना मानिँदैन।

आज सेप्टेम्बर ८ तारिख भइसकेको छ। सामान्यतया मनसुन (वर्षा याम) को अन्त्य सेप्टेम्बर २३ लाई मानिन्छ।

‘तर ठ्याक्कै यही दिन मनसुन अन्त्य हुन्छ भन्न सकिन्न,’ मौसमविद् अर्यालले भने, ‘केही वर्षयता अलि लम्बिएकै पाइएको छ, कहिलेकाहीं अक्टोबरसम्म पनि लम्बिन सक्छ।’

तर पनि अब अघिल्ला महिनामा जस्तो व्यापक बाढीपहिरो जाने गरी वर्षा नहुने उनको अनुमान छ। 

‘अहिले बादलले आकाश ढाकेर धुम्म भए पनि त्यसबमोजिम व्यापक वर्षा हुने सम्भावना हुन्न,’ उनले भने।

तर पहाडी क्षेत्रमा पहिलेकै वर्षाले जमिन भिजेकाले सानो वर्षाले पनि पहिरोको जोखिम हुन सक्ने भएकाले होसियारी भने अपनाउनुपर्ने उनको सुझाव छ।

आज वर्षाको सम्भावना
मौसमविद् अर्यालका अनुसार अहिले बिहान खासगरी गण्डकी प्रदेशदेखि पूर्व केही स्थानमा वर्षा भइरहेको छ।

‘बिस्तारै अन्य स्थानमा पनि मौसम बदली हुँदैछ,’ उनले भने, ‘आज खासगरी प्रदेश ५ देखि पूर्व केही स्थानमा वर्षा हुने सम्भावना छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थान (मौसमविद् अर्यालका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक) मा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले मंगलबार बिहान जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। 

यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १ , प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .