ad ad

समाज


रुस, चीन र अक्सफोर्ड विश्वविद्यालयले बनाएका भ्याक्सिनको नेपालमा परीक्षण गर्न प्रस्ताव

रुस, चीन र अक्सफोर्ड विश्वविद्यालयले बनाएका भ्याक्सिनको नेपालमा परीक्षण गर्न प्रस्ताव

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ११:१९,

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिड-१९ विरुद्ध बनाइएको भ्याक्सिनको नेपालमा परीक्षण (क्लिनिकल ट्रायल) गर्न प्रस्ताव गरिएको बताएका छन्।

विश्वमा विभिन्न सातवटा कम्पनीले भ्याक्सिन निर्माण गरी क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगेको अवस्था रहेकाले तीमध्ये तीनवटा कम्पनीसँग मिलेर नेपालमा पनि क्लिनिकल ट्रायल गर्न प्रस्ताव गरिएको उनले बताए।

सदस्यसचिव ज्ञवालीले रुसमा बनेको भ्याक्सिन, चीनमा बनेको भ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयको समुहले बनाएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्न प्रस्ताव गरिएको जानकारी दिए।

त्यसमध्ये चीनको होङसी कम्पनीले निर्माण गरेको भ्याक्सिन एक हजार जनाका लागि ट्रायल गर्न प्रस्ताव आइसकेको उनले बताए। त्यस्तै रुसमा विकास गरिएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न र उत्पादन सम्भाव्यता भए नेपालले पनि भ्याक्सिन बनाउनका लागि लगानी गर्ने सम्बन्धमा प्रस्ताव आएको बताए।

उनले नेपालका लागि रुसी राजदूतसँग आफैँले भेटेर क्लिनिकल ट्रायल र उत्पादनका लागि चिठ्ठी लेखेर दिएको बताए।

याे पनि: रसियन राजदूत भन्छन् : रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई छिट्टै दिन तयार छौं

सदस्यसचिव ज्ञवालीका अनुसार तेस्रो चरणको क्लिनिकल ट्रायल गर्नका लागि पनि केही प्रक्रिया पुरा गर्नुपर्छ। नेपालमा ‘सेन्ट्रल इथिकल रिभ्यु बोर्ड’ एनएचआरसी अन्तर्गत विभिन्न विषय विज्ञहरु सहितको स्वतन्त्र बोर्ड रहेको र त्यहाँ छलफल भएपछि मात्रै क्लिनिकल ट्रायलका लागि स्वीकृतिको चरणमा लगिने बताए।

क्लिनिकल ट्रायलका लागि इथिकल रिभ्यु बोर्डबाट पास भइसकेपछि औषधि व्यवस्था विभागमार्फत लाइसेन्सका लागि अनुमति माग्ने बताए। बोर्डबाट लाइसेन्स प्राप्त भएपछि मात्रै क्लिनिकल ट्रायलको कार्यान्वयन गरिने पनि उनले स्पस्ट पारे।

भ्याक्सिनको क्लिनिकल ट्रायलका लागि स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको पनि उनले बताए। क्लिनिकल ट्रायलका लागि प्रधानमन्त्री स्तरबाट स्वीकृति लिनु नपर्ने पनि ज्ञवालीले स्पस्ट पारे।

त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लिडिङ अर्गनाइजेसनको रुपमा रहेको र उसले पनि क्लिनिकल ट्रायलका विषयमा हेरिराखेको हुनुपर्ने उनले बताए।

सबै चरणका क्लिनिकल ट्रायल पास भएका भ्याक्सिनलाई डब्लूएचओले पनि स्वीकृति दिने विश्वास गरिएको उनकाे भनाइ छ।

याे पनि: नेपालमा पनि मानिसलाई लगाएर कोरोना खोपको परीक्षण सुरु गरिँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .