ad ad

समाज


संक्रमितको मनोबल बढाउन मेयरसहितकाे टाेली घरदैलोमा

संक्रमितको मनोबल बढाउन मेयरसहितकाे टाेली घरदैलोमा

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ९:२२,

कोरोना भाइरस संक्रमितको मनोवल बढाउन बुटवल उपमहानगरपालिकाले घरदैलो कार्यक्रम थालनि गरेको छ। भाइरसको संक्रमण समुदायमा बढ्दो अवस्थामा रहेको जनाइएको छ। संक्रमण नियन्त्रणका लागि उपमहानगरपालिकाले नगर क्षेत्रमा पूर्णरुपले बन्दाबन्दी (लकडाउन) जारी गरेको छ।

कोरोना संक्रमितहरु उपमहानगरले सञ्चालन गरेका आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्। यसका अतिरिक्त लक्षण नदेखिएका संक्रमित र कन्ट्रयाक टे«सिङमा परेकाहरुलाई समेत सुरक्षित तरिकाले होम आइसोलेशनमा राखिएको छ।

होम आइसोलेशनमा राखिएका संक्रमित र तिनका परिवारलाई भेट्न उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी घर घरमा पुगेका छन्। उनले संक्रमितको मनोवल बढाउन स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र र आयुर्वेद औषधि समेत लिएर संक्रमितका घरमा भेटघाट थालेका छन्।

विभिन्न परिस्थितिमा संक्रमित हुन पुगेका र स्वास्थ्य सावधानी सहित होमआइसोलेशनमा बसेकाहरुलाई घरदैलोमै पुगेर स्वास्थ्यलाभको कामना गरिएको उनले बताए। उनले भेटघाट गर्ने क्रममा सुरक्षा सावधानी अपनाएको र अरुलाई पनि अपनाउन अपील गरेका छन्।

नगरप्रमुख सुवेदीले बुधबार नगर क्षेत्रका विभिन्न २६ स्थानमा रहेको होम आइसोलेनका संक्रमितलाई घरमै पुगेर भेटघाट गरेका उपमहानगरपालिकाले जनाएको छ। यसक्रममा समुदाय स्तरमा सचेतनाका पत्र र सावधानीका उपायका बारेमा समेत सुरक्षा प्रवन्धसहित जानकारी गराउने गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए।

होम आइसोलेशनमा घरमा सुरक्षित रुपमा बसिरहेका बेलामा गेटमा एक्कासी मेयरसहतिको टोली ओखतीको पोको बोकेर आउँदा एकदमै खुशी लागेको बुटवल–११, का एक संक्रमित पुरुषले जानकारी दिए। उनले यस्तो अभियानले हरेक सङक्रमितको मनोबल उँचो हुने बताए।

प्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत शर्मा, होम आइसोलेशन रहेका सम्बन्धित वडाका अध्यक्षहरु रामचन्द्र क्षेत्री, नारायणप्रसाद पुन र उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहसहितको टोलीले सुरक्षा प्रबन्धसहित संक्रमितको स्वास्थ्य लाभको कामना गर्न होम आइसोशनमा पुगेका हुन्।

बुटवलमा मात्रै बुधबारसम्म एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ती मध्ये केही त बुटवल उपमहानगरपालिकाकै कर्मचारीसमेत छन्। उनीहरु सबै आइसोलेशनमा राखिएका छन् भने उनीहरुको परिवारमा पनि परीक्षण भइरहेको छ।

उपमहानगरपालिकाले पछिल्लो समयमा बजारको भीड नियन्त्रण गर्न समेत नयाँ मापदण्ड बनाएर कडाई गरिरहेको छ। सचेतनाका कार्यक्रम र टोलटोलमा स्वयंसेवक समेत परिचालन गर्दै नियन्त्रणका काम प्रभावकारी बनाउन लागिएको नगर प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .