ad ad

समाज


स्थलगत अध्ययन टोलीका सदस्य भन्छन्ः नवराज विकले न्याय पाउनेमा शंका छ

स्थलगत अध्ययन टोलीका सदस्य भन्छन्ः नवराज विकले न्याय पाउनेमा शंका छ

नेपालखबर
साउन १७, २०७७ शनिबार ३:१३,

दलितसँग आफ्नो छोरीको प्रेम रोक्न रुकुममा मारिएका जाजरकोटका नवराज विकले न्याय पाउनेमा शंका रहेको स्थलगत अध्ययन टोलीको एक सदस्यले बताएका छन्।

घटनाको स्थलगत अध्ययनमा संलग्न एक सदस्य नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य अधिवक्ता मोहन साशंकरले प्रहरीले प्रारम्भदेखि नै प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाउँदै पीडितले कानुनबमाेजिम सजाय पाउनेमा शंका रहेको बताएका हुन्।

नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र अनेरास्ववियु उत्पीडित राष्ट्रिय सम्पर्क कमिटीले शुक्रबार काठमाडौंमा संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा अधिवक्ता साशंकरले भने, ‘अदालतमा रहेको मुद्दाबारे धेरै बोल्न नमिले पनि न्याय पाउनेमा भने शंका उब्जिएको छ।’

अधिवक्ता मोहन साशंकर-

mohan

जातीय विभेदका घटनामा निःशुल्क बहस गरिरहेका साशंकरले अब पनि बिस्तारै परिवर्तन हुन्छ भनेर दलित समुदायलाई ठूलो भ्रममा राखिएको बताए।

सबै समुदाय एकजुट भएर जातीय विभेदविरुद्ध लड्न उनले आह्वान गरे।

कार्यक्रमका सहभागी-

kirtipur2

यसैबीच जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश (सीपी) घर्तीले नवराज विकसहित ५ जनाको हत्या गर्नेहरूलार्य सजायको माग गर्दा आफूलाई राजनीतिक रूपमा सिध्याउन (पोलिटिकल किलिङ) खोजिएको बताएका छन्।

तर अन्याय र अत्याचारविरुद्ध आफू जस्तोसुकै परिस्थितिमा पनि लड्ने उनले प्रतिबद्धता जनाए। आफुले पटकपटक आग्रह गर्दा पनि प्रदेश र संघका सांसद घटनाबारे बोल्न नचाहेको उनको आरोप छ।

नेपाललाई समृद्ध बनाउने हो भने जातीय विभेद अन्त्य गर्नुपर्ने र सबै जातका मानिसले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने उनले बताए। कार्यक्रममामा अनेरास्ववियका नेता रश्मि आचार्यले समाजमा रहेका हरेक खाले विभेदविरुद्ध अनेरास्ववियु लड्ने बताए।

अनेरास्ववियुजस्तो प्रगतिशील संगठनले जातीय विभेदजस्तो जघन्य अपराधलाई नजरअन्दाज गर्न नमिल्ने उनले बताए।हरेक परिवर्तनका आन्दोलनमा अनेरास्ववियु अग्रपंक्तिमा रहेको बताउदैं उनले जातीय विभेदविरुद्ध पनि अग्रपंक्तिमा अभियान नै गर्नेगरी अनेरास्ववियु अगाडि बढ्ने प्रतिबद्धता जनाए।

‘गैरदलित समुदायले अब बा, आमाले मान्नु हुन्न भनेर पन्छिन मिल्दैन, घरबाटै जातीय विभेद अन्त्य गर्न लाग्नुपर्छ,’ उनले भने।

कार्यक्रममा अखिल नेपला महिला संघकी केन्द्रीय सदस्य अधिवक्ता सुनिता अधिकारी परियारले दलित आन्दोलनलाई एकीकृत गरेर लैजानुको विकल्प नभएको बताइन्। ‘एक ठाउँ उभिए मात्र दलित मुक्ति सम्भव छ,’ उनले भनिन्।

रुकुम घटना अन्तिम हुने गरी निर्णायक आन्दोलन गर्नुपर्नेमा उनले जोड दिइन्।

कार्यक्रममा अनेरास्ववियुका नेता मोती विकले कम्युनिस्टको दुईतिहाइको सरकार हुँदा पनि यस्ता खाले घटना हुनु विडम्बना भएको बताए।

यस्तै युवा नेत्री एवं समाजशास्त्री उषा किरण तिमिल्सिनाले राज्य सञ्चालकको द्वेध चरित्रले गर्दा नै रुकुम पश्चिमका हत्याराको मनोबल बढेको टिप्पणी गरिन्।

‘क्रान्तिको विगुल फुक्ने रुकुम–जाजरकोटमा जसरी नवराज विकहरूको हत्या गरियो, त्यसले कमरेडहरू दलालमा परिणत भएको स्पष्ट भएको छ,’ उनले भनिन्।

कार्यक्रममा अधिवक्ता यमकुमारी ददेलले रुकुमका पीडितले न्याय नपाउन्जेल घटनाले कस्तो मोड लिन्छ भन्न नसकिने बताइन्। कीर्तिपुरमा भएको आन्दोलनलाई धन्यवाद दिँदै यस्ता खाले बहस धेरै गर्नुपर्ने र समग्रमा दलित आन्दोलनलाई सबै समुदायको आन्दोलन बनाए मात्र आन्दोलन सफल हुने उनले बताइन्।

रुकुम हत्याकाण्डविरुद्ध कीर्तिपुरमा आफूहरूले निरन्तर आन्दोलन गरिरहेको विद्यार्थी नेता रामलाल राजवंशी बिकेले जानकारी दिए।

याे पनिकुषि मन्त्री घनश्याम भुसाल भन्छन् : नवराज विक हत्याको जिम्मेवारी हामीले लिनुपर्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .