कोरोनाको महामारी रोक्नका लागि लगाइएको लकडाउन खुकुलो बनाएलगत्तै अत्याधिक जनसंख्या रहेको काठमाडौंमा यसको संक्रमण दर ह्वात्तै बढ्नसक्ने आँकलन गरिएको थियो। तर, उक्त अनुमान विपरीत सरकारी तथ्यांकले भने लकडाउन खुकुलो भएपछि संक्रमण दर झनै घटेको देखाएको छ।
सरकारले गत जेठ २९ गतेदेखि लकडाउनलाई केही खुकुलो पारेको थियो। खुकुलो हुने निर्णयसँगै बजार, संघसंस्था, कार्यालयहरु खुलेका थिए। जोर विजोरका आधारमा यातायातका साधनहरु चलेका थिए। उपत्यकामा मान्छेको चहलपहल ह्वात्तै बढेको थियो।
साउन ७ गतेसम्म लकडाउनको अवधि भए पनि पछिल्ला दिनमा काठमाडौँ लगायत देशभर नै लकडाउन नै नभएको अवस्था देखिएको छ। सार्वजनिक यातायात पनि सञ्चालनमा आइसकेका छन्। उपत्यकाबाट बाहिरिएकाहरु पनि भित्रिने क्रम तीव्र छ। तर, आँकलन विपरीत संक्रमणको दर भने झनै घट्दै गएको छ।
लकडाउन खुकुलो हुँदा जेठ २९ गते नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ थियो। त्यसमध्ये ८६१ जना निको भएका थिए। त्यसपछि झण्डै ४ सयको हाराहारीमा दैनिक वृद्धिदर रहेको नेपालमा असार १९ पछि भने दैनिक संक्रमितको संख्या स्वाट्टै घटेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार दुई हप्ताअघि कुल परीक्षणको ९ देखि १० प्रतिशत संक्रमित दर देखिँदा अहिले त्यो घटेर २ देखि ३ प्रतिशत भएको छ। उनका अनुसार क्वारेन्टिनका मान्छे घट्नु, पोजिटिभ कम भएकाले कन्ट्याक्ट ट्रेसिङ पनि कममा हुनु, शंकास्पदहरुलाई आइसोलेट गर्नु आदि संक्रमण कम देखिनुका कारण हुन।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाडौं उपत्यकाको समुदायमा पनि संक्रमण फैलिएको प्रमाण छैन। उनले काठमाडौं उपत्यकाका भिडभाड हुने स्थान र समुदायका ४ हजार २ सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
‘हामीले उपत्यकामा समुदायस्तरमै संक्रमण छ वा छैन भनेर ५ हजार व्यक्तिमा परीक्षण गरेका थियौं,’ उनले भने, ‘तर, ४ हजारको नतिजा आउँदा ३ जनामा मात्र संक्रमण देखियो। यसले उपत्यकामा समुदायमा संक्रमण छैन भन्ने देखाउँछ।’
लकडाउन खुकुलो भएको एक महिना बितिसकेको अवस्थामा पनि संक्रमितहरुको संख्या नबढेको अहिलेको अवस्था हेर्दा नेपालमा अब भयावहको स्थिति नआउनेमा जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षित आशावादी देखिए।
‘लकडाउन खुकुलो पारेको एक महिना पुगिसक्दाको अवस्था हेर्दा अब भयावहको स्थिति हुँदैन भन्नेमा म आशावादी छु,’ दीक्षितले भने, ‘संक्रमण भने बढ्नेक्रम रोकिन्न। तर, संक्रमणदर भने तीव्र हुँदैन। पहिले थोरै समयमा दुईबाट ४, चारबाट १६ हुन्थ्यो भने अब त्यही संख्यामा पुग्न धेरै समय लाग्छ।’
दीक्षितले सार्वजनिक सबै सवारीसाधन चल्न थालेपछि कोरोना भाइरस रोक्न नेपालका लागि अग्निपरीक्षा हुने उल्लेख गरे। तर, पूर्ण रुपमा सवारी खुलेर हवाई यातायात बढेमा पनि भयावहको स्थितिमा कोरोना संक्रमण दर नबढ्ने उनले विश्वास व्यक्त गरे।
संक्रमण रोग विशेषज्ञ डा.अनुप सुवेदीले अवस्थालाई आँकलन गर्नुभन्दा पनि सतर्क भएर बस्नु बेस हुने बताए। उनले अहिलेसम्म धेरै मानिसहरु अस्पतालमा भर्ना हुनु नपरेको र मृत्युदर पनि कम हुनु खुशीको कुरो भए पनि ढुक्क हुने बेला नभएको बताए।
‘बाहिरी देशको अवस्था हेर्दा घुलमिल हुँदै जाँदा, आवागमन बढेसँगै संक्रमणको संख्या पनि बढ्दै गएको देखाएको छ,’ उनले भने, ‘इटाली, चीनमा पनि एकसमय ह्वात्तै देखियो। पछि उनीहरुले लकडाउन गरे। क्वारेन्टिनमा राख्ने, आइसोलेसन गर्ने, कन्ट्याक्ट ट्रेसिङको काम व्यापक रुपमा गरे। त्यसैले ती देशमा कमजोर गरियो। तर, हामीले उनीहरुको जसरी रोकथामको काम गर्न सकेका छैनौं।’
उनले अरु देशको जस्तो कन्ट्रोल पनि नगर्ने र संक्रमण पनि कम देखिनुका पछाडि हामीले गलत ठाउँमा वा गलत मान्छेमा परीक्षण गरिरहेका हौं कि भनेर आशंकासमेत व्यक्त गरे।
नेपालमा अझै पनि यो रोगले जोखिम बढी हुने मान्छेलाई नछोएको तथा यस्ता प्रकृतिका भाइरसले पहिले पनि संक्रमण गरिसकेकाले केही प्रभाव कम देखिएको हुनसक्ने बताए। तर, संक्रमणको भार बढ्दै जाँदा मृत्युदर पनि बढ्दै जाने हो कि भन्ने चिन्ता भने उनले व्यक्त गरे।
प्रतिक्रिया