ad ad

समाज


ब्रुमर सञ्चालनको एक वर्ष: हुन सकेन सडक सफा

ब्रुमर सञ्चालनको एक वर्ष: हुन सकेन सडक सफा

शर्मिला पाठक
फागुन २८, २०७६ बुधबार ७:११,

सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले ब्रुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको एक वर्ष बिते पनि अपेक्षा अनुरुप सडक सफा हुन सकेको छैन। कामपाले हालसम्ममा ब्रुमरमन्त्रमार्फत सडक सफा गरेर पाँच हजार ७९ टन धुलो सङ्कलन गरेको छ।

पानी परेको दिनबाहेक अन्य दिन अहिले दैनिक सात यन्त्रले सडक सफा गर्छन्। कामपाले ब्रुमर सञ्चालन गरेको एक वर्ष हुँदासम्म महानगरको सडकमा धुलो कम भएको छैन। बाहिरी ठूला सडकमा केही कम भए पनि भित्री सडकमा एकपटक पनि उक्त यन्त्र पुगेको छैन।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाहिरी सडकमा सहजरूपमा ब्रुमर सञ्चालन गर्ने अवस्था रहेको भए पनि भित्री सडकमा अझै पनि सहजरूपमा सञ्चालनको अवस्था छैन। त्यसले गर्दा भित्री सडकको धुलो ठूला सडकमा आउँछन् र फोहर देखिन्छ। सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ।

महानगरले सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो। ब्रुमर सञ्चालनका लागि कामपाले पाँच वटा सडक निर्धारण गरेको छ। सोही रुटअनुरुप काम गरिहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको बताइएको छ।

महानगर क्षेत्रमा पर्ने सबै खाल्डाखुलडी पुर्ने काम कामपाको नभएको जनाइएको छ। आठ मिटर कम चौडाका सडक मात्र कामपाको अधिकारभित्र पर्दछ, बाँकी अन्य सडक विभाग मातहतमा पर्दछ। पछिल्लो समय सडक विभागले ठूला सडकको खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ। सडकको मुख्य स्थान न्यूरोड, रत्नपार्क, जमल, कालिमाटी कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी विभागले पुरिरहेको छ।

यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको थियो। महानगरसँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको छ। उक्त यन्त्रले पानी नपरेको दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सडक सफा गर्दै आएको छ। ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो। पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ।

ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताका रहेका छन्। यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप छन्। खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ।

स्थानीयवासीको गुनासो छ ब्रुमर प्रयोगमा आयो तर सडक सफा भएन भन्ने छ। कालिमाटीका स्थानीयवासी विष्णु कँडेलका अनुसार ब्रुमर सञ्चालनमा आएको एक वर्ष हुँदासम्म शहरमा अपेक्षाअनुरुप धुलो कम हुनसकेको छैन।

समस्याजस्ताको तस्तै छ। 'यही अवस्था रहिरहने हो भने महङ्गो रकम खर्च गरेर ब्रुमर खरिद गर्नुको कुनै अर्थ छैन', कडेँल भन्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .