ad ad

समाज


सातै प्रदेशमा पुग्यो क्यान्सर उपचार सेवा विस्तार

सातै प्रदेशमा पुग्यो क्यान्सर उपचार सेवा विस्तार

नेपालखबर
असोज १, २०८१ मंगलबार १७:४५, काठमाडौँ

देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ।

गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मंगलबार भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिएपछि देशका सातै प्रदेशमा यो सेवा उपलब्ध भएको हो। 

यसअघि बागमती प्रदेशअन्तर्गत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगन्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा पुगेको हो। 

भक्तपुर क्यान्सर अस्पतालमार्फत कोसी प्रदेशको विराटनगर र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुरमार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने गरी सम्झौता भएको छ। 

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको आफ्नो योजना तथा प्राथमिकतामासमेत क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गरेका थिए।

आफूले गरेको पहिलो घोषणा पूर्णरूपमा कार्यान्वयनमा आएको जानकारी दिँदै मन्त्री पौडेलले अबको चरणमा मानव अंग प्रत्यारोपण तथा मुटुको उपचारका सेवा विस्तार गर्न सकिने बताएका छन्। उनले भने, ‘क्यान्सरसँगै मानव अंग प्रत्याारोपण र मुटु उपचार सेवासमेत विस्तार गर्ने नीति लिएका छौँ।’

संघीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने मन्त्री पौडेलको भनाइ छ।

पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो। उनले पदभार सम्हालेपछि पहिलो निर्णयका रूपमा क्यान्सर नियन्त्रण रणनीति, २०३० स्वीकृत गरेका थिए।

यसअघि संघ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .