ad ad

समाज


बेचन झाको अनुसन्धानमा झेल : भीआईपीको चेन छाडेर २ करोडको चेकमा अलमल

पोलिग्राफ परीक्षण गर्न मानेनन्, सम्पत्ति शुद्धीकरणमा लगिएन अभियोग
बेचन झाको अनुसन्धानमा झेल : भीआईपीको चेन छाडेर २ करोडको चेकमा अलमल

उजिर कार्की
साउन ३०, २०८१ बुधबार २०:१०, काठमाडौँ

पूर्वगृहसचिव टेकनारायण पाण्डेले गतवर्ष बयानमा भनेका थिए– ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ।’

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अरोपमा प्रहरीले गतवर्ष पूर्वगृहसचिव पाण्डेसहित पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतलाई पक्राउ गरेको थियो। 

यो प्रकरणमा पक्राउ परेका धेरैजसो धरौटी बुझाएर छुट्दा समेत पाण्डे र रायमाझीसहितका प्रतिवादीहरू भने अहिले पनि पुर्पक्षका लागि केन्द्रीय कारागारमै छन्। 

यता पाण्डेले माथिल्लो तहसम्मको चेन खुल्ने संकेत गर्दै बयानमा भनेका व्यक्ति बेचन झा पनि अहिले प्रहरी हिरासतमा छन्। झाविरुद्ध मंगलबार उनीहरूलाई लगाएकै आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भइसकेको छ। 

जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा बुधबार झाको बयान सकिएको छ। बिहीबार थुनछेक बहसपछि पाण्डे र झाबीच कारागारभित्रै भेट हुने सम्भावना पनि छ। 

उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि, थुनाबाहिर भन्ने आदेश बिहीबार नै आउने सम्भावना छ। यसअघि बेचन झालाई प्रहरीले ४७ दिन हिरासतमा राखेर अनुसन्धान गर्‍यो।

तर यत्तिका दिनपछि पनि पाण्डेले भनेजस्तो थप गहिराइमा अनुसन्धान पुगेको छैन। उनले संकेत गरेका व्यक्तिहरू अनुसन्धानको दायरामा त आएनन् नै आरोप लगाउने पाण्डेलाई पनि प्रहरीले सोधपुछ नै नगरेको पाइएको छ। 

झा पक्राउको असर सत्ता परिवर्तनसम्म जोडिएको आरोप विपक्षी दलहरूले लगाउँदै आएका थिए। प्रचण्ड सरकार ढल्नु केही दिनअघि मात्रै झा पक्राउ परेका थिए। झालाई पक्राउ गरेपछि भुटानी शरणार्थी प्रकरणको लहरो कांग्रेस र एमालेका उच्च तहसम्म पुग्ने भएकाले यसबाट जोगिन उनीहरूले सत्ता साझेदारी गरेको आरोप सत्ताबाट बाहिरिँदै गर्दा माओवादी र रास्वपाले लगाएका थिए। झालाई पक्राउ गर्ने विशेष ब्युरोका डीआईजी मनोज केसीको सरुवा र सीआईबी प्रमुखबाट श्यामलाल ज्ञवालीलाई हटाउनु पनि यसको असर रहेको उनीहरूको आरोप छ। 

अनुसन्धान प्रतिवेदन उनीहरूले लगाएको आरोपलाई केही हदसम्म बल पुग्नेगरी तयार भएको छ। यसतर्फ संकेत गर्दै टेकनारायणले लगाएको आरोपबारे सोध्दा झाले जवाफ दिएका छन्, ‘टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क छैन। निजले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानून्।’

यो भन्दा गहिराइमा पुग्न प्रहरीले चाहेन वा सकेन। तर अन्य विषयमा यसअघिका प्रतिवादीहरूसँग भने प्रहरीले बेचन झालाई सँगै राखेर सोधपुछ गरेको छ। 

चेकमै घुम्यो अनुसन्धान
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको संलग्नता खुलाउने अर्का व्यक्ति हुन् रामशरण केसी। केसीले नै बेचनलाई २ करोड रूपैयाँको चेक दिएको भनिएको थियो। 

प्रहरी अनुसन्धान मुख्यगरी यही विषयमा केन्द्रित भएको पाइएको छ। टेकनारायणसँग सोधपुछ नै नगरेको प्रहरीले चेकको विषयमा भने चेक दिने, चेक दिँदा भिडिओ खिच्ने र चेक साट्न बैंक जाने व्यक्तिसँग पनि सोधपुछ गरेको छ। 

गत वर्ष पक्राउ परेका केसी धरौटीमा रिहा भएका थिए। बेचनलाई पक्राउ गरिसकेपछि केसीलाई बोलाएरै प्रहरीले कागज गराएको छ। 

कागज गराउने क्रममा बेचनलाई सँगै राखेर सोध्दा रामशरणले भनेका छन्, ‘मैले २०७८ मंसिर ८ गते रातको ८ बजेको समयमा मेरो नामको हिमालयन बैंकको खाताको रु. २ करोडको चेक लिने बेचन झा नाम गरेका व्यक्ति हाल मेरो सामुन्ने उपस्थित भएका यिनै व्यक्ति हुन्।’

भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई अमेरिका लैजानका लागि २०७८ मंसिर १३ गतेको मन्त्रिपरिषदको बैठकबाट केही निर्णयहरू हुन लागेको र उक्त निर्णय गराउने काम बेचन झाले गर्ने यसअघिका अर्का प्रतिवादी सानु भण्डारीले बताएका थिए। उनले निर्णय गराउने बेचन झालाई २ करोडको चेक दिन भनेकाले आफूले चेक दिएको रामशरणले बताएका छन्। 

चेक दिँदा बेचन झाले निलो रङको ट्रयाकको बाहुला र सुरुवालको साइडमा सेतो धर्का भएको कपडा लगाएको बताएका छन्। चेक दिँदा रामशरणले आफूले लगाएका कपडा र बेचनले लगाएका कपडा बारे पनि खुलाएका छन्। उनीहरूले त्यसक्रममा भिडिओ समेत लिएको पाइएको छ। उक्त भिडिओ प्रहरीलाई उपलब्ध भइसकेको छ। जुन प्रमाणका रूपमा अदालतमा समेत पेस गरिएको छ। रामशरणले बयानमा भने अनुसारकै कपडा बेचनले लगाएको उक्त भिडिओमा देखिन्छ। 

बेचनलाई चेक दिन जाँदा मोबाइलमा भएको कुराकानीको २ वटा अडिओ र चेक दिइसकेपछि मन्त्रिपरिषदबाट निर्णय भए नभएको बारेमा कुराकानी गर्दाको रेकर्ड पनि उनले पेस गरेका छन्। 

तर रामशरणले दिएको चेक भने बैंकबाट साटिएको थिएन। यसबापतको रकम बेचनलाई हरिभक्त महर्जनले दिएको भनेका छन्। हरिभक्त पनि यसअघि पक्राउ परेर पुर्पक्षका क्रममा थुनाबाहिर छन्। 

प्रहरीले बेचनको अनुसन्धान गर्दा उनले चेक लिँदा भिडिओ खिचेका भनेका श्यामकृष्ण श्रेष्ठलाई पनि बोलाएर कागज गराएको छ। श्यामकृष्णले पनि आफू रामशरणसँग गएको र बेचन झाले चेक लिएको भिडिओ खिचेको बताएका छन्। त्यतिबेला भिडिओ खिचेका व्यक्ति यिनै बेचन झा भएको उनले पनि खुलाएका छन्।

बेचन झा उक्त २ करोडको चेक साट्न बैंक पुगेको पनि पुष्टि भएको छ। उनले उक्त चेक साट्नका लागि श्रीमती चन्द्रिका झाले सञ्चालन गरेको विभान्सु ब्रदर्स प्रालिका कर्मचारी बन्चन श्रेष्ठलाई पठाएका थिए। श्रेष्ठले आफू उक्त चेक साटेर बेचन झाले भनेको खातामा रकम जम्मा गरिदिन गएको कागज गरिदिएका छन्। 

तर उक्त चेक जम्मा गरेर भौचर लिएर फर्किएका कन्चनलाई भोलिपल्ट बैंकबाट चेक नसाटिएको भन्दै टेलिफोन आएको थियो। बेचनलाई भौचर बुझाइसकेका श्रेष्ठले चेक साटिएन फिर्ता लिन आउनु भनेपछि चेक ल्याएर बेचनलाई नै फिर्ता दिएको कागजमा खुलाएका छन्।    

तर बेचनले बयानका क्रममा भने यी कसैलाई पनि नचिनेको र कुनै कसुरमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन्। 

स्वर परीक्षण गर्न माने, पोलिग्राफ गर्न मानेनन् 
रामशरण केसीले टेलिफोनका क्रममा रेकर्ड गरेको अडिओ आफ्नो नभएको बेचनले बयान दिएका छन्। उनले उक्त अडिओ आफ्नो नभएको दाबी गर्दै परीक्षण गर्न पनि तयार भए। 

प्रहरी अनुसन्धानका क्रममा भने रामशरणको मोबाइल नम्बरबाट बेचनकै मोबाइल नम्बरमा टेलिफोन कुराकानी भएको दाबी गरिएको छ। बेचनलाई बयानका क्रममा झुट बोलेको हुन सक्ने भन्दै प्रहरीले पोलिग्राफ परीक्षणका लागि पनि पठाएको थियो। तर बेचनले पोलिग्राफ गर्न अस्वीकार गरेको खुलेको छ। 

जिल्ला प्रहरी परिसरले पोलिग्राफ गराउनका लागि पत्राचार समेत गरिसकेको थियो। तर उनले पोलिग्राफ गर्न नमानेको सम्बन्धित अनुसन्धान अधिकारीको प्रतिवेदन पनि अभियोगका साथ पेस गरिएको छ। 

अभियोगसाथ उनी र रामशरणबीच भएका कुराकानीको अडिओ र चेक दिँदाको भिडिओ पनि पेस गरिएको छ। २ करोडको चेक लेनदेनको विषयमा गम्भीर अनुसन्धान गरेको प्रहरीले टेकनारायणले भनेको राजनीतिक तहबाट आएको विषयमा भने कुनै अनुसन्धान गरेको छैन। न त आरोप लगाउने टेकनारायणलाई नै सोधपुछ गरिएको छ। 

बरु बेचनलाई मात्रै प्रतिवादी बनाएर अनुसन्धान टुंग्याउँदै अदालत लगेको पाइएको छ। 

बेचनलाई चार कसुरको आरोप, सम्पत्ति शुद्धीकरणमा लगिएन 
यो प्रकरणमा यसअघि पक्राउ परेका सबै प्रतिवादीहरूलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा लगाइएको थियो। तर बेचन झालाई भने सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर गरेको नखुलेको भन्दै उक्त अभियोग पेस गरिएको छैन। अभियोगमा भनिएको छ, ‘खुलिआएको बखत पुनः सोतर्फ अभियोग पेस गरिने छ।’ 

पर्साको वीरगन्ज उपमहानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ।

झा समेतका प्रतिवादीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रूपैयाँ पीडितबाट ठगी गरेको आरोप छ।

बेचनलाई राष्ट्र हित प्रतिकूलको कसुरमा ५ वर्ष कैद र ५० हजार जरिवाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना, किर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना, संगठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको माग गरिएको छ। 

थुनामा को को छन्?
जिल्ला अदालतले थुनामा पठाएपछि शरणार्थी प्रकरणका प्रतिवादीहरू उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेका थिए। उनीहरूले आफूलाई थुनाबाहिरै राखेर मुद्दाको फैसला गर्न माग गरेका थिए। 

तर तीमध्ये केहीलाई भने सर्वोच्च अदालतले पनि थुनामुक्त गर्न अस्वीकार गरेको छ। 

गत वैशाख १३ गते न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले एमाले सचिव (निलम्बित) समेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार गरेको थियो। यसअघि जिल्ला अदालत र उच्च अदालतले पनि उनलाई थुनामै पठाएका थिए। 

मंसिर १५ गते उच्च अदालत पाटनले आदेश दिएको थियो। 

पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा, बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मालाई पनि थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न सर्वोच्चको आदेश छ। 

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भने उच्च अदालतले ३० लाख धरौटीमा रिहा गरेको थियो। बादलका छोरा प्रतीक थापालाई पछि पक्राउ गरिएको थियो। उनलाई पनि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। अरु प्रतिवादीहरू भने उच्च र सर्वोच्च अदालतबाट थुनामुक्त भएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .