ad ad

समाज


के हो ज्योतिष विज्ञान? जान्नुपर्ने यी कुरा

के हो ज्योतिष विज्ञान? जान्नुपर्ने यी कुरा

पण्डित नारायणप्रसाद दुलाल
साउन १७, २०८१ बिहिबार ११:७, काठमाडौँ

आम जनमानसको धारणा ज्योतिष भनेको धार्मिक विषय मात्र हो भन्ने भ्रम रहेको देखिन्छ। तर यसको वास्तविकता भने अर्कै छ। ज्योतिष भनेकै आफैँमा विज्ञान हो।

ज्योतिष शास्त्र कुनै मनगढन्ते शास्त्र होइन। यो पूर्ण रूपमा भौतिक या रसायन विज्ञान जस्तै विशुद्ध ज्योतिष विज्ञान हो। यो देवता र ऋषिमुनिले प्रतिपादन गरेको दैविक ज्योतिष विज्ञानको मूल वेद हो।

खगोलमा रहेका ग्रह, तारा र नक्षत्र आदि सम्पूर्ण ब्रह्माण्डमा पञ्चतत्त्‍व (पृथ्वी, जल, तेज, वायु र आकाश)को ऊर्जा रहेको हुन्छ। त्यही पञ्चतत्त्वको ऊर्जा हाम्रो वरिपरि रहेको वातावरणको माध्यमबाट प्राणीको शरीरले ग्रहण गरिरहेको हुन्छ।

कुन समयमा कुन ग्रहको ऊर्जालाई हाम्रो शरीरले स्वीकार गर्छ भन्ने कुरा ग्रहदशा हो। अत: जुन समयमा हाम्रो शरीरले सबैभन्दा बढी जुन ग्रहको ऊर्जालाई स्वीकार गर्दछ, हाम्रो ग्रहदशा भनेको त्यही नै हो।

सौर्यमण्डलमा रहेका तारा र ग्रहहरूको सम्बन्धबाट पृथ्वीमा र पृथ्वीबाट पञ्चतत्त्वको माध्यमले हाम्रो शरीरमा प्राप्त हुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड (भौतिक) र चेतन (प्राणी) माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान ज्योतिष विज्ञान हो।

अहिलेको आधुनिक विज्ञान वा भौतिक विज्ञानले हाम्रो जीवनको भौतिक पक्षमा मात्र ध्यान केन्द्रित गर्दछ। ज्योतिष विज्ञानको मद्दतले हाम्रो जन्म समयमा सौर्यमण्डलमा अवस्थित विभिन्न ग्रह र खगोलीय पिण्डहरूको सूक्ष्म अध्ययन गरेर त्यसको प्रभावले हाम्रो जीवनमा शरीर, स्वास्थ्य, शिक्षा, व्यक्तित्व, रोजगारी, विशेषता, सम्बन्ध, प्रवृत्ति, संस्कार, धन, भौतिक सुख आदि सम्भावित जीवनको भविष्यवाणी यसै ज्योतिष विज्ञानमा हुन्छ, जुन भौतिक विज्ञानमा हुँदैन।

ज्योतिष विज्ञानद्वारा अशुभ घटनाको सङ्केतलाई सत्कर्म, उपाय, जप, पाठ, पूजा, दर्शन या अन्य निर्धारित विधिबाट कम गर्न सकिन्छ। विज्ञ ज्योतिषीद्वारा उचित परामर्श लिँदा शुभ फल प्राप्त गर्न सकिन्छ।

फलानि ग्रहचारेण सूचयन्ति मनीषिण।
को वक्ता तारत्म्यस्य तमेकम वेधसं विना।।

ज्योतिष विज्ञानले हामीलाई भविष्यको मार्गनिर्देशन गर्न वा बुझ्न मद्दत गर्दछ। अहिलेको वैज्ञानिक युगमा वैदिक ज्योतिषलाई अन्धविश्वास मान्नेहरूको लागि प्रत्यक्ष प्रमाणको लागि सूर्य चन्द्रमा नै पर्याप्त छ।

अप्रत्यक्षाणि शास्त्राणि विवादस्तत्र केवलं।
प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्को यत्र साक्षिणो।।

ज्योतिष विज्ञानले हामीलाई नक्षत्र र ग्रहहरूको चाल तथा गतिअनुसार उचित निर्णय लिन प्रोत्साहित गर्दछ र हाम्रो प्रयासमा सफलताको सम्भावना बढाउन मद्दत गर्दछ। हाम्रो आर्थिक, पारिवारिक, मानसिक, स्वास्थ्य तथा सम्बन्धहरूलाई राम्रोसँग बुझ्न, निर्णय लिन, योजना बनाउन, सावधानी अपनाउन र मार्गनिर्देश गर्दै विषम परिस्थितिमा धैर्यता प्रदान गर्न सक्षम बनाउँदै सहजता प्रदान गर्दछ।

पृथ्वीले सूर्यको वरिपरि घुम्ने बाटो वृत्तकारमा ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ,  प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यसैलाई एउटा राशिको नाम दिइएको हुन्छ। यी राशिका नाम मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन हुन्।

त्यस्तै ग्रहहरू सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र र शनि गरी सात वटा छन्। यी बाहेक पूर्वीय ज्योतिषमा दुई वटा काल्पनिक ग्रह राहु र केतुलाई पनि गणना गरिन्छ। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्षद्वारा काटिएका विन्दु हुन्, भौतिक ग्रह होइनन्। त्यसैले यिनीहरू सधैँ विपरीत दिशामा रहेका हुन्छन्। जुन हामीले टेलिस्कोपद्वारा देख्न सक्छौँ।

यी तथ्यबाट ज्योतिष विज्ञान पनि भौतिक या रसायन विज्ञान जस्तै विशुद्ध विज्ञान हो भनेर हामी बुझ्न सक्छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .