ad ad

समाज


२५ वर्षदेखि अनागरिक बाँचिरहेको जोडी, जोसँग ज्यानबाहेक केही छैन

२५ वर्षदेखि अनागरिक बाँचिरहेको जोडी, जोसँग ज्यानबाहेक केही छैन

तस्बिर सौजन्य : मितिनी नेपाल


राधिका अधिकारी
साउन ७, २०८१ सोमबार ७:२४, काठमाडौँ

सिरहाको मिर्चैयाका भुलन सदा र रोम्नी सदाले २५ वर्षे यात्रा सँगसँगै गरे। यी दुई एक–आपसमा जोडिनुभन्दा अघि उनीहरू दुवैले अलगअलग बिहे गरेका थिए। तर, अरुको जिन्दगीमा रङ भर्न खोज्दा उनीहरूको आफ्नै जीवनको रङ भने हरायो। त्यसपछि भुलन र रोम्नी भेट भए।

भुलन ‘ट्रान्सम्यान’ हुन् भने रोम्नी ‘समलिंगी महिला’ हुन्। उनीहरूसँग एक–अर्काको साथबाहेक केही पनि छैन। घर छैन। जग्गा छैन। रोजगारीको टुंगो छैन। समाजमा सम्मान छैन। शिक्षा छैन। जीवन जिउने आर्थिक स्रोत छैन। सामाजिक चेतना छैन। न्याय छैन। राज्यले दिनै पर्ने नागरिकता पनि उनीहरूसँग छैन। भुलनको त जन्मदर्तासमेत छैन। त्यसैले त भुलन भन्छन्, ‘हामीसँग छ भन्न मिल्ने केही पनि छैन।’

उनीहरूलाई राम्रोसँग थाहा छ केही नहुनुको पीडा। 

‘मानवका रूपमा यो धर्तिमा भुलन जन्मिएको ४५ वर्ष नाघ्यो, म ४० वर्षअघि जन्मिएकी हुँ,’ रोम्नी भन्छिन्, ‘दुई ज्यान छ। बाँकी हामीसँग केही पनि छैन।’

छोरीको रूपमा जन्मिएका भुलन थुप्रै वर्ष अन्योलमा बाँचे। बुवा–आमाले दुलही बनाएर अन्माएर पठाइदिए। उनी त्यो घरमा ५ दिन बसे। त्यसपछि फर्किएका उनी कहिल्यै पतिको घरमा गएन। रोम्नीको पनि विवाह भएको थियो। विवाहपछि उनले एक छोरालाई जन्म दिइन्। तर, आफ्नो यौनिकता थाहा पाएपछि उनले पनि श्रीमान् छाडिन्। त्यसपछि सुरु भएको हो भुलन र रोम्नीको जीवनको नयाँ अध्याय। सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर १० मा ऐलानी जमिनमा बनेको एउटा फुसको छाप्रो छ। त्यही छाप्रोमा भुलन र रोम्नीले जीवनका २५ याम कटाए। 

भुलन सानै थिए। उनका बुवा–आमाको मृत्यु भयो। उनीसँग आफ्ना बुवा–आमासँगको कुनै स्मृति पनि छैनन्। उनको जन्मदर्ता बनाइदिने समेत कोही भएन। जन्मदर्ता नहुँदा भुलन अहिलेसम्म आफू जन्मेको देशमै अनागरिक बाँच्न विवश छन्। 

‘जन्मदर्ता नभएका कारण स्थानीय सरकारले सिफारिस दिँदैन। सिफारिसबिना जिल्ला प्रशासन कार्यालयले नागरिकता दिँदैन। नागरिकताबिना बैंक खाता पनि बन्दैन,’ भुलन भन्छन्, ‘कतिपय सामाजिक सुरक्षा भत्ताका लागि पनि बैंक खाता चाहिन्छ, मसँग हुनु पर्ने आधारभूत चिज नै छैन।’ 

भुलनका अनुसार रोम्नीको त जन्मदर्ता छ, तर नागरिकता प्राप्त भइसकेको छैन। 

आफू जन्मिएकै देशमा उनीहरूको गणना छैन। यो जोडीको नाम मतदाता सूचीमा समावेश हुँदैन। उनीहरूले अहिलेसम्म कुनै पनि निर्वाचनमा भोट हाल्न पाएका छैनन्। 

सीमान्तकृत मानिसहरूका लागि राज्यका तर्फबाट आएका कुनै पनि योजना भुलन र रोम्नीसम्म पुग्दैनन्। उनीहरूको जीवनको कष्ट भनिसाध्यै छैन। भुलनका लागि रोम्नी र रोम्नीका लागि भुलनको सुरक्षा महत्वपूर्ण छ। तर, देशका लागि उनीहरू हुनु र नहुनुले कुनै अर्थ राख्दैन। 

२ वर्षअघि भुलनलाई क्षयरोग लाग्यो। क्षयरोगको उपचार सरकारले निःशुल्क प्रदान गर्छ। नागरिकता नहुँदा उनले सरकारले दिएको यो सुविधाबाट बञ्चित हुनु पर्‍यो। दैनिक ज्यालादारी गर्ने उनीहरूले जसोतसो उपचार गराए। अहिले उनलाई क्षयरोग निको भएको छ। रोग निको भए पनि उनी कमजोर छन्। धेरै बलको काम गर्न सक्दैनन्। काम नगर्दा दुईछाक गाँसको प्रबन्ध हुँदैन। उनी ज्यानले नसकेपनि बाध्यताले भारी उचालिरहेका हुन्छन्। 

‘यही दैनिक ज्यालादारी काम पनि सधैँ पाइँदैन। कुनै दिन काम हुन्छ, कहिलेकाहीँ महिना दिनसम्म पनि खाली बस्नुपर्छ,’ भुलन सुनाउँछन्, ‘काम गरेको दिन ४ सय रूपैयाँ ज्याला आउँछ। त्यही चार सयले सबै आवश्यकता पूरा गर्नुपर्छ।’ 

उनीहरूसँग यो ४ सयले पूरा गर्नु पर्ने आवश्यकताका चाङ छन्। तर, त्यही ४ सयको पनि सधैँ भर छैन।

भुलनसँग अनागरिक हुनुको पीडा छ। लैङ्गिकताको पीडा र पीडा दलित र गरिब हुनुको पनि। उनलाई जीवनमा भोग्न बाँकी अर्को कुनै कष्ट छ जस्तो लाग्दैन। नेपालको सबैभन्दा गरिब जातिका रूपमा सूचीकृत छ मुसहर जाति सबैभन्दा धेरै अशिक्षित समुदाय पनि यही हो। 

९८ प्रतिशत मुसहरसँग आफ्नो जमिन छैन। अक्सर मुसहरहरूका घरमा खाद्यान्नको जोहो एक साताभन्दा बढीलाई पुग्ने गरी कहिले पनि हुँदैन। उनीहरूको सम्पत्तिको मापन घरमा भएको खाद्यान्नको जोहोलाई हेरेर गरिन्छ। यो समुदायका प्रायको जीवन अरुको ज्याला मजदुरी गरेरै सकिन्छ। भुलन र रोम्नी सदाले बाँचिआएको जीवन पनि यही हो। त्यसमाथि पनि उनीहरूले यौनिकताका कारण विभेदको अर्को नयाँ तह भोग्नु परेको छ।

जीवनका सबै कष्ट सहने यो जोडीलाई बानी परिसकेको छ। तर अनागरिक भएर बाँच्नु परेको पीडाले भने उनलाई सताइरहन्छ। अनागरिक भएकै कारण हरेक सरकारी राहतमा छुट्नु पर्दाको सम्झनाले उनी कयौँ रात निदाउन सकेका छैनन्। 

‘सरकारले दलितका लागि घर बनाइदिन्छ। भूमिहीनका लागि जग्गा दिन्छ। कतिपय संस्थाहरूले राहत बाँड्छन्,’ भुलन भन्छन्, ‘तर हामीसँग नागरिकता नभएका कारण त्यस्ता कुनै पनि राहत हामीले पाएका छैनौँ।’ 

भुलनले थुप्रैपटक यो देशको नागरिक बन्ने कोसिस गरे। तर, जन्मदर्ता नभएको भन्दै स्थानीय तहले फर्काइदिन्छ। मिल्न त जन्मदर्ता नभएका तर नेपालमै जन्मेका र यतै हुर्केकाहरूलाई प्रक्रिया पूरा गरेर नागरिकता प्रमाणपत्र प्रदान गर्न मिल्छ। तर, उनीहरूका लागि बोलिदिने कसले। मतदाता सूचीमै नाम नभएका उनीहरूका पक्षमा बोलदिने स्थानीय जनप्रतिनिधि समेत छैनन्। भुलन र रेम्नीलाई यो देशको नागरिक भएर बाँच्ने मन छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .