ad ad

समाज


अधिवक्ता नानी थापामाथि काठमाडौँ जिल्ला अदालत परिसरमै प्रहरीले हान्यो मुक्का

अधिवक्ता नानी थापामाथि काठमाडौँ जिल्ला अदालत परिसरमै प्रहरीले हान्यो मुक्का

राधिका अधिकारी
असार २४, २०८१ सोमबार ११:५१, काठमाडौँ

काठमाडौँ जिल्ला अदालतको गेटमा अधिवक्ता लक्ष्मी नानी थापामाथि ड्युटीमा रहेका प्रहरीले मुक्का प्रहार गरेका छन्। 

प्रहरीको मुक्काबाट घाइते भएकी थापाको देब्रे आँखामुनि चोट लागेको छ। आइतबार दिउँसो अदालतको गेटमै थापामाथि मुक्का प्रहार भएको हो।

आइतबारै अस्पतालमा सामान्य उपचार गराएर फर्किएकी थापा अहिले घरमै आराम गरिरहेकी छिन्। 

‘बाहिरी चोट सामान्य होला, काम गरेर अधिवक्ताकै पोसाकमा फर्किने क्रममा भएको यो ज्यादतीले  मानसिक चोट भने गहिरो दिएको छ,’ अधिवक्ता थापाले नेपालखबरसँग भनिन्, ‘यो प्रहार एक अधिवक्तामाथि नभएर महिला कमजोर हुन्छन् भनेर गरिएको प्रहार हो। महिलामाथिको हिंसा हो।’

आइतबार काठमाडौँ जिल्ला अदालतको ६ नम्बर फाँटमा थापाको काम थियो। बिहानै अदालत पुगेकी उनको काम दिउँसोको साढे २ बजेपछि मात्रै हुने जानकारी आयो। 

त्यसपछि खाजा खाएर काममा फर्किने उद्देश्यले आफ्ना सेवाग्राहीसँग बाहिर निस्कने क्रममा ३ नम्बर गेटमा ड्युटीमा रहेका प्रहरीसँग परिचय पत्रको विषयमा भनाभन भयाे। साेही क्रममा आफूमाथि मुक्का प्रहार भएको उनले बताइन्।

‘पानी परिरहेको थियो। एउटा हातले छाता समाएको थिएँ। ब्यागमा भएको कार्ड निकाल्न सहज थिएन’ उनले भनिन्, ‘म कानुन व्यवसायीको ड्रेसमै छु, जान दिनुस् भनेर अगाडि बढेँ। त्यसपछि प्रहरीले तुच्छ भाषामा गाली गर्दै ममाथि मुक्का हान्याे।’

ती प्रहरीले पेसागत र महिला हिंसाजन्य शब्दको प्रयोग गरेर आफूलाई गाली गरेको थापाको भनाइ छ। गाली सुन्न नसकेर नानीले पछाडि फर्किएर ‘कसलाई त्यस्तो भनेको’ भनेर प्रश्न गरेकी थिइन्। त्यसपछि ती प्रहरीले ‘तँलाई भनेको, तँ को होस् र?’ भन्ने जवाफ दिए। 

‘उनले औँला उठाएर मलाई यो सब भनिरहेका थिए। मेले औँला नउठाउँनुस् भन्दा ममाथि मुक्का प्रहार भयो’ अधिवक्ता थापा भन्छिन् ‘त्यो मुक्का यति पावरफुल थियो कि झण्डै २ मिनेट म बोल्न पनि सकिनँ।’ 

त्यसपछि उनले अदालत प्रशासनमा आफूमाथि भएकाे ज्यादतीकाे विषयमा कुरा राखिन्। ती प्रहरी कर्मचारीले रिस खप्न नसकेर मुक्का प्रहार गरेको बताए। त्यसपछि सिंहदरबार प्रहरीमा जाहेरी दिन गएको तर दर्ता नगरिदिएको उनी बताउँछिन्। 

जाहेरी दिन जाँदा पनि प्रहरीले ठूलो स्वरमा आफैँलाई हप्काएको तथा आफूमाथि थप्पड हान्ने प्रहरीको बचाउ गरेको अधिवक्ता थापाको भनाइ छ। ठाडो निवेदनका भरमा सिंहदरबार प्रहरीले वीर अस्पतालमा घाउ जाँचका लागि आफै जानू भनेर पत्र थमाइदिएकाे थियाे। 

त्यसपछि उनी साथीको साथ लागेर वीर अस्पतात गएकी थिइन्। उपचारपछि घर फर्किँदा उनका बारेमा भ्रामक हल्ला फैलाइएको थियो। ‘उपचारपछि राति घर फर्किँदा उल्टै मेरो चरित्र हत्या हुनेखालको प्रचारबाजी भैरहेको पाएँ। यसले मलाई थप दुःखी बनाएको छ’ थापाले भनिन्। 

‘यो मेरो गालामा हानेको थप्पड मात्रै होइन, यो मेरो जीवनकाे स्वाभिमानमा हानेको, मेरो मर्यादामाथि हानेको प्रहार हो,’ राज्यको सुरक्षाकर्मीबाट मानवको रुपमा पाउनु पर्ने व्यवहार नपाएको भन्दै थापाले गुनासो गरेकी छिन्। 

‘अदालत हाताभित्र हाम्रै सुरक्षार्थ खटिएका प्रहरी जवानबाट यो प्रकारको व्यवहार हुनु निन्दनीय छ। मेरो छालामा लागेको चोट निको होला, मेरो प्रतिष्ठामाथि लागेको चोट निको हुँदैन’ थापा भन्छिन्, ‘यसको उपचार कानुनी बाटो नै हो। कानुनी बाटोबाट हिँड्न खोज्दा झन् मेरो चरित्र हत्या हुने गरी प्रचार गरियो। ममाथिको प्रहार पितृसत्ताको प्रहार हो भन्ने मैले बुझेकी छु।’

आफूमाथिको यो आक्रमण सहन गर्न गाह्रो भइरहेको उनले बताएकी छिन्।

थापा केही महिनाअघि मात्रै वैतनिक वकिलको रूपमा एक वर्ष सिन्धुपाल्चोक जिल्ला अदालतमा काम गरेर काठमाडौँ फर्किएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .